धरानः धरानको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ७ वर्ष अघिदेखि धरानमा शुरु भएको एकीकृत शहरी विकास आयोजना अन्तर्गतको खानेपानी परियोजना विविध समस्याले समाधान हुन सकेको छैन ।

पछिल्लो समय खानेपानी संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरण प्रक्रिया हुन नसक्दा समय लम्बिएको आइतबार पत्रकार सम्मेलन गरी उपमहानगरपालिकाले जानकारी दिएको छ ।

एशियाली विकास बैंकको २२ दशमवल ०७ मिलियन अमेरिकी डलर ऋण तथा अनुदानमा सञ्चालन भएको खानेपानी परियोजना र संस्थान बोर्डमा आएपछि डिजाइनअनुसारको पानीको सिस्टम पूर्ण रूपमा कार्यान्वयनमा आउने उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् ।

‘संस्थानको धरान शाखाको सम्पत्ति तथा दायित्व हस्तान्तरण गरी आयोजनाको उद्देश्यअनुरूप संस्थान मातहत रहेका संरचना र सेवा साथै थप गरिएका संरचना र सेवाको एकीकरण गरी समयमै खानेपानी आपूर्ति गर्नुको कुनै विकल्प छैन,’ उनले भनिन् । परियोजना सञ्चालन भएसँगै विभिन्न अवरोहका कारण समयमै परियोजना सम्पन्न हुन नसकेको उनको भनाइ छ ।

धरानको खानेपानी समस्या समाधान गर्न सन् २०१२ मा नेपाल सरकार तथा एशियाली विकास बैंकबाट ५० प्रतिशत अनुदान, नगर विकास कोषमार्फत् ३५ प्रतिशत ऋण र धरान उपमहानगरपालिकाको १५ प्रतिशत लगानीमा परियोजना सञ्चालन भएको थियो । सन् २०१७ को जुलाइमा परियोजना सम्पन्न हुने गरी १ अर्ब ४८ करोड ७३ लाख १७ हजार ५ सय ६५ रुपैयाँमा श्री बिल्डिङ अथोरिटी प्रालिलाई ड्रइङ डिजाइनका लागि परामर्शदाता नियुक्त गरी निर्माण कार्यका लागि श्री तियान्जन तुँदी जेभीलाई ठेक्का दिएको थियो ।

तर डिजाइनअनुसार काम गर्दै जाँदा विभिन्न भौतिक संरचना थप निर्माण गर्नुपर्ने भएअनुसार परियोजनाको लागत बढेर १ अर्ब ७७ करोड ५४ लाख ३९ हजार ४ सय ११ रुपैयाँ पुगेको परियोजनाका प्रमुख राजु पोखरेलले बताए ।