धरानः इञ्जिनियरिङ अध्ययन संस्थानले लिएको २०७६÷७७ को शैक्षिक सत्रको स्नातक तहको प्रवेश परीक्षामा नेपाल टप बनेका प्रतीक दाहाललाई विष्णु मेमोरियल माध्यमिक विद्यालयले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमा ६ कक्षादेखि अध्ययन गरेका दाहालले १२ कक्षा उत्तीर्ण गरेपछि साउन २० गते संस्थानको प्रवेश परीक्षा दिएका थिए । सो परीक्षामा उनी नेपाल टप हुन सफल भएका हुन् । नेपालभरबाट १५ हजार परीक्षार्थी सहभागी भएका थिए ।
उनलाई विद्यालयका प्लस टु का कोअर्डिनेटर नवीन शाक्यले फूलमाला लगाइदिँदै सम्मान गरेका हुन् । दाहालले विष्णुबाट प्लस टु मा ३.५ ए ग्रेड ल्याएर उत्तीर्ण गरेका थिए । उनी विज्ञान सङ्कायमा प्लस टु सकेर इञ्जिनियरिङ पढ्नका लागि प्रवेश परीक्षामा सहभागी भएका थिए ।
दाहालले नेपाल टप गरेर इतिहासमै पहिलो पटक विष्णुको नाम राख्न सफल भएको कोअर्डिनेटर शाक्यले बताए । उनले भने, ‘यो विद्यालयको इतिहासकै उत्कृष्ट उपलब्धी हो । यसलाई निरन्तरता दिन विद्यालयले कडा मिहिनेत गर्नेछ ।’
दाहालले कम्प्युटर इञ्जिनियरिङ पढ्ने बताएका छन् । उनले प्लस टु मा अध्ययनरत विद्यार्थीलाई अध्ययनमा मिहिनेत गर्न हौसाएका छन् । काठमाडौंबाहिर पनि उच्च स्तरको अध्ययन हुने गरेको उदाहरण यो घटनाले बनाउन सफल भएकोमा विद्यालयका शिक्षक, अभिभावकलाई दाहालले धन्यवाद दिए ।