इटहरीः इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक शत्र शुरु हुनै लाग्दा क्याम्पस प्रशासनले शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी सङ्गठनले विरोध गरेका छन् ।
शुल्क विद्यार्थी सङ्गठनलाई नसोधी क्याम्पस प्रशासनले आफूखुशी विद्यार्थीको भर्ना शुल्क, तथा अन्य शुल्क वृद्धि गरेको भन्द चर्काे विरोध भएको हो । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी, नेपाल विद्यार्थी सङ्घ, समाजवादी विद्यार्थी फोरम, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त प्रेस विज्ञप्ति निकाली शुल्क वृद्धिको विरोध गरेका हुन् ।
विद्यार्थी सङ्गठनसँग छलफल नगरी शुल्क वृद्धि गरिएकाले आफूहरूलाई मान्य नहुने भन्दै ती सङ्गठनले क्याम्पस प्रशासनको आलोचना गरेका हुन् । आज दिउँसो साढे १ बजेसम्ममा क्याम्पस प्रशासनले निर्णय फिर्ता नलिए लेखा शाखामा तालाबन्दी गरिने बताइएको छ ।
त्यसपछि पनि निर्णय फिर्ता नलिए भोलि भदौ ५ गते बिहान ७ बजे क्याम्पस प्रशासनमा तालाबन्दी गर्ने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस विषयमा सहायक क्याम्पस प्रमुख टोलनाथ काफ्लेले अबको केही बेरमा विद्यार्थी सङ्गठनबीच वार्ता गरेर उचित निर्णय लिने बताएका छन् ।