सङ्खुवासभाः नेपाल टेलिकमले सङ्खुवासभाका विभिन्न दुर्गम क्षेत्रमा ४ ओटा बीटीएस टावर जडान गरेको छ । मोबाइल फोन नचल्ने दुर्गम क्षेत्रका चार स्थानमा बीटीएस टावर थपिएको हो ।

विकट र विद्युत सेवा नभएका कारणले मोबाइल फोन सेवाबाट समेत वञ्चित स्थानीयको समस्यालाई मध्यनजर गर्दै चार स्थानमा सेवा विस्तार गरिएको नेपाल टेलिकम शाखा कार्यालय खाँदबारीका प्रमुख राधारमण भट्टराईले जानकारी दिए । टेलिकमले मकालु गाउँपालिका–५ अरुण तेस्रो बाँधस्थल, फ्याक्सिन्दा, चिचिला गाउँपालिका २ इम्चुङ, मादी नगरपालिकाको मावादीन र खाँदबारी ३ को माने भञ्ज्याङमा टावर जडान गरेको जनाएको छ ।

पहाडी भूभागमा धेरै जसो डाँडाकाँडाले छेकिने भएको कारणले मोबाइल फोन चल्न नसक्ने भन्दै स्थानीयले टावरको माग गरे अनुसार थप गरिएको बताइएको छ । मोबाइल फोन नटिप्ने सभापोखरी गाउँपालिकाको सभापोखरी र स्वाचीमा समेत विटियस टावर थप्ने अन्तिम तयारी भइरहेको टेलिकमले जनाएको छ ।

खाँदबारीमा रहेको टेलिकम शाखाले संखुवासभा र भोजपुरसहित १७ स्थानबाट सञ्चार सेवा प्रबाह गरिरहेको प्रमुख प्रमुख भट्टराईले बताए। अहिले चिचिला गाउँपालिका, खाँदबारीको छ्याङ्कुटी, मकालु गाउँपालिकाको भाटभोटेनी, भोटखोला गाउँपालिकाको बाक्ले र माक्पालुङ, सिलिचोङ गाउँपालिकाको रमितेमा सोलार पावरको भरमा बीटीएस प्रणालीमार्फत् मोबाइल नेटवर्क सञ्चालन गरिँदै आएको जनाएको छ ।

भोटखोला गाउँपालिकाको किमाथाङ्कामा रहेको टावर प्रत्यक्ष भिसेट (स्याटेलाइट) मार्फत सञ्चालनमा रहेको शाखाका प्रमुख भट्टराईको भनाइ छ । नेपाल टेलिकम खाँदबारी शाखामार्फत् नै भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सोलारकै भरमा बीटीएसमार्फत् मोबाइल सेवा प्रदान भइरहेको बताइएको छ ।

शाखाले जीएसएम ८, सीडीएमए ५ र ल्याण्डलाइन सेवा ५ स्थानबाट सञ्चालन गरिरहेको छ । खाँदबारी शाखाबाटै भोजपुरको षडानन्द नगरपालिकाको दिङ्लामा ल्याण्डलाइन सेवा, षडानन्दकै झ्याउँपोखरी र साल्पासिलिछो गाउँपालिकाको कुलुङमा जीएसएम सेवा प्रदान गरेको छ ।

शाखाले १ सय ९२ स्थानमा ल्याण्डलाइन फोन वितरण गरेको छ । सबैभन्दा धेरै खाँदबारीमा १ हजार १ सय ८० जना ग्राहक रहेका छन् । ल्याण्डलाइन वितरण भएका स्थानहरूमा शाखाले एडीएसएल सेवा समेत वितरण गरेको छ ।

खाँदबारी शाखाले नै भोजपुरको दिङ्लामा पनि ल्याण्डलाइन फोन वितरण गरेको छ । जिल्लामा करीब ७ स्थानका टावरमार्फत् एनसेल कम्पनीले मोबाइल सेवा प्रवाह गरिरहेको छ ।