धरानः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धरान उपमहानगर कमिटीले बुधबारदेखि वैधानिकता पाएको छ ।
धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा एक कार्यक्रमको आयोजना गरी बुधबार कमिटीलाई औपचारिकता दिँदै शपथ ग्रहण सम्पन्न भएको छ । साविक एमालेका नारायण सुवेदीको अध्यक्षतामा बनेको १ सय १ सदस्यीय उपमहानगर कमिटीलाई नेकपाका स्थायी कमिटी सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले शपथ खुवाएका थिए । कमिटीको सचिवमा साविक माओवादीका सुदर्शन श्रेष्ठ चयन भएका छन् ।
धरानको शपथ ग्रहणसँगै सुनसरी जिल्लाको १२ ओटै स्थानीय तहमा नेकपाको एकता प्रक्रिया सकिएको छ । धरान नगर कमिटीमा साबिक एमालेबाट अध्यक्ष सहित ६१ जना छन् भने साविक माओवादीबाट सचिवसहित ४० जना रहेका छन् ।
शपथ ग्रहण गर्दै कमिटीका अध्यक्ष नारायण सुवेदीले नगर कमिटीलाई उपनिर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । उनले मंसिर १४ गते हुने निर्वाचनमा केन्द्रित भई रिक्त रहेको मेयरको पदमा नेकपाकै उम्मेद्वारलाई जिताउने गरी लाग्न नगरका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
कमिटीको पहिलो पूर्ण बैठकले भदौ ६ गतेदेखि २१ गतेसम्म नगरका वडा कमिटीहरूको शपथ कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ । सुवेदीले निर्णय सुनाउँदै वडाको शपथ कार्यक्रम निर्वाचनकेन्द्रित हुने बताए ।
कार्यक्रममा नेकपाका प्रदेश सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, सुनसरी इञ्चार्ज धर्मराज निरौला, प्रदेश सल्लाहकार मनोजकुमार मेन्याङ्बो, प्रदेश सदस्य, जिल्ला सदस्य लगायतका नेताहरूले नयाँ कमिटीलाई शुभकामना दिएका थिए ।