सङ्खुवासभाः एक वर्षअघि तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको सङ्खुवासभाको सदरमुकामसहित मुख्य बजार र बसपार्कमा नै सार्वजनिक शौचालय नहुँदा समस्या बढेको छ ।

जिल्लाको मुख्य बजारको रूपमा रहेको खाँदबारी, तुम्लिङटार र मानेभञ्ज्याङ बसपार्कमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण मारमा परेका छन् ।

सार्वजनिक शौचालय नहुँदा सास्ती खेप्नुपरेको सिलिचोङ गाउँपालिका–२ का अदल कुलुङले बताए । दैनिक १ हजार यात्रु ओहोरदोहोर गर्ने बसपार्कमा शौचालय नहुँदा बसपार्क आसपासमै शौच गर्दा दुर्गन्ध फैलिएको छ । तर, सरोकारवाला निकाय कानमा तेल हालेर बसेको कुलुङको गुनासो छ ।

बजार क्षेत्र र बसपार्कमा सार्वजनिक शौचालय नबन्दा बाहिरबाट आउने मानिसलाई शौच गर्न समस्या भएको सभापोखरी गाउँपालिकाका अमीर भट्टराईले गुनासो गरे । त्यस्तै, मकालु गाउँपालिकाको नुम बजार, सभापोखरीको बाह्रबिसे बजार, मादीको ओखरबोटे बजारमा समेत समेत सार्वजनिक शौचालय छैन ।

सदरमुकामको बजार र बसपार्कमा सार्वजनिक शौचालय नहुनु दुःखद् भएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य बताउँछन् । शाक्यले भने, ‘मैले यो विषयमा खाँदबारी नगरपालिकाको नगर अधिवेशनमा पटक–पटक कुरा उठाए पनि प्रमुखबाट कुनै प्रतिक्रिया आएन ।’

पर्यटन वर्ष २०२० लाई सफल बनाउने भनिरहँदा जिल्लामा भित्रिने मुख्य ठाउँमा नै सार्वजनिक शौचालय नहुनु जिल्लावासीका लागि लाजमर्दो कुरा भएको उनको भनाइ छ । खाँदबारीबाट धरान र विराटनगरका लागि लामो दूरीका दैनिक दर्जनौं साना तथा ठूला सवारीसाधन सञ्चालन छुट्ने गरेका छन् ।

त्यस्तै, छोटो दूरीतर्फ खाँदबारी बसपार्कबाट अहिले सभापोखरी गाउँपालिकाको बाह्रबिसे, धुपु, चैनपुर नगरपालिका, मकालु गाउँपालिकाको नुम, भोटखोलाको वरुण, खाँदबारी नगरपालिकाको तुम्लिङटार र मानेभञ्याङ क्षेत्रमा नियमित रूपमा यातायात सञ्चालन हुँदै आएको छ ।