बेलबारी: मोरङको बेलबारीमा रहेका सिमसार क्षेत्रको चर्चा क्यानडामा भएको छ । क्यानडा हुईनेपेग सिटहलह (Winnipeg Citey Hall) का मेयर ब्रयान बाउम्यान र बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी बिच भएको भेटघाटमा सिमार क्षेत्रको चर्चा भएको हो ।

मेयर सुवेदीले नगरपालिकाले बनाएको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) देखाएपछि मेयर वाउम्यानले छक्क पर्दै भने ‘एउटै नगरमा २१ वटा सिमसार रहेछ यो विश्वमै अन्यत्र छैन होला ।’उनले सिमसार क्षेत्रको विकास तथा प्रबद्र्धनमा सघाउने समेत जनाएको मेयरले सुवेदीले जानकारी दिएका छन् । सिसौली, अमना, बेतना धनपालथान, धनपालगढी, महाराजथान भव, जाल्पादेवी भव, भुलभुले, कुइरीखोला, मखनपोखरी, गयलपोखरी झलझलीबाँध, हाँडीदह लगायतका सिमसार क्षेत्र नगरभित्र रहेका छन् ।
बेलबारीको सबै भन्दा ठुलो भने बेतना, सिमसार रहेको छ । प्रा.डा. दामोदर थापा क्षेत्री, प्रा. डा. सोमप्रसाद खतिवडा, डाक्टर भविन्द्र निरौला, डाक्टर अर्जुन बराल, रामचन्द्र अधिकारी, अर्जुन थापालगायतले सिमसारको डिपिआर निर्माण गरेका

हुन् । सिमसारको नगरको रूपमा चिनाउने तयारी गरिरहेको नगरपालिकाले अन्तर्राष्ट्रिय स्तरमा गएर समेत चर्चा हुन थालेको छ ।मेयर सुवेदीले गरिबसँग नगरपालिका कार्यक्रम अन्तरगत बोयर वोका वितरण तथा बेलका बिरुवा वाट आम्दानी गर्ने विषयमा समेत सुनाएका थिए । प्रति वर्ष १० हजार बेलका बिरुवा नगरपालिकाले रोप्ने लक्ष्य समेत उनलाई सुनाएका थिए ।

उनले धिमाल जातिले हाते तानबाट बुनेको गलबन्दी मेयर बाउम्यान लगाइदिदै भने ‘यो हाम्रो नगरको पहिलो जातिले बुनेको हो ।’ उनले गलबन्दी लगाउँदै बेलबारीको मायाको चिनोका रूपमा प्रयोग गरेको बताए ।
यसै गरी दुई मेयर बिच फोहोर मैला व्यवस्थापन, सम्पत्ति कर मूल्याङ्कन, पूर्वाधार विकास, शिक्षा स्वास्थ्यका विषयमा समेत छलफल भएको मेयर सुवेदीले टेलिफोनमार्फत जानकारी दिएका छन् ।