इटहरीः भदौ ७ गते शनिबार हुने नेपाल औषधी व्यवसायी संघ सुनसरीको पहिलो अधिवेशनबाट औषधी व्यवसायी संघ सुनसरीको नेतृत्व लिन इटहरीको पञ्चकोशी हेल्थ सर्भिस सेन्टर इटहरीका सञ्चालक नवीनराज गौतम प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
१६ वर्ष अघिदेखि औषधी व्यवसायमा आबद्ध भएका उनी आफ्नो समूहमा जुझारु, कर्मठ र पेशाप्रति निष्ठावान सदस्य भएका हुनाले आफ्नो समूहले जीत हात पार्ने बताउँछन् ।
औषधी व्यवसायीको हितको साथै औषधी व्यवासायीलाई हेर्ने गलत प्रवृत्तिको अन्त्य गर्न आफूले उम्मेद्वारी दिएको उनको भनाइ छ । दर्ता नगरी औषधी पसल सञ्चालन हुन नदिने तथा औषधी व्यवसायीलाई संघप्रति विश्वस्त बनाउने मुख्य उद्देश्यका साथ चुनावी मैदानमा अघि सरेको उनको भनाइ छ ।
औषधी व्यवसायीलाई मर्यादित बनाउने तथा व्यवसायीको एकतामा जोड दिने काम आफ्नो प्राथमिकतामा परेको उनको भनाइ छ । औषधी पसलमा लुट हुन्छ भनी जनमानसमा फैलिएको भ्रमलाई चिर्दै मर्यादित व्यवसायको रूपमा स्थापित गराउन लागि पर्ने गरी उम्मेद्वारी दिएको बताउँछन् ।
कतिपय औषधी पसल दर्ता नगरी सञ्चालन हुने अनि त्यस्ता पसलमा भएको विकृति र अवैध कार्यको कारणले समग्र औषधी व्यवसायप्रिति गलत नजरले हेर्ने गरेको उनको बुझाइ छ । यी सब समस्या अन्त्य गर्न जरुरी रहेको हुनाले ती समस्या हल गर्न कटिबद्ध भएर लाग्ने उनले बताए ।
अस्पताल भित्र र अस्पताल बाहिरको फार्मेसीलाई एकै किसिमका औषधी बेच्न नदिने गरी बनाइएको निर्देशिका नै गलत रहेको उनको भनाइ छ । ‘बिरामीका आफन्त औषधी लिन आउँदा रित्तो हात फर्काउनुपर्दा अप्ठ्यारो हुने गरेको छ,’ उनी भन्छन्, ‘सरकारले नै गरेको यस्तो विभेदकारी नीतिलाई हटाउनु आवश्यक छ ।’ यस्तो विभेदकारी नीतिले फार्मेसीबीच नै नीतिगत पक्षपात गरेको उनले बताए ।
रातदिन पसलमा बसी औषधी व्यवसायमा सक्रियहरूले आफ्नो समूहबाट उम्मेद्वारी दिएका हुनाले व्यवसायीका र सेवाग्राहीका समस्या जानकारी हुने उनले बताए । ‘हामी आफैं काम गर्ने व्यवसायी हौँ । कामदार राखेर पसल सञ्चालन गर्ने व्यवसायी हाम्रो टिममा छैनौँ’, फोन सम्पर्कमा उनले भने, ‘३० वर्षसम्म व्यवसाय गरेको अनुभव भएका र पसलमा रातदिन खटिने हाम्रो समूहलाई विजयी गराएमा समस्या समाधान गर्न थप बल पुग्नेछ ।’