उर्लाबारीः मेयरविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै नेपाली काङ्ग्रेस उर्लाबारी नगरसमितिले नगरसचिवलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

मनोनित नगरसचिव विष्णु गुरागाईले पार्टीको हितविपरीत सामाजिक सञ्जालमा स्टाटस लेखेको साथै गोपनीयता बाहिर ल्याएको भन्दै नगरसमितिले निष्कासन गरेको विज्ञप्तिमा जनाइएको छ । गुरागाईलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्दै त्यसको प्रक्रियाको लागि क्षेत्र तथा जिल्ला समितिलाई पत्रचार गरिएको जनाइएको छ ।

भदौ १ गते नगरसमितिका सभापति वीरबल थापाद्वारा हस्ताक्षर गरिएको विज्ञप्ति जारी भएको छ । क्षेत्रीय सभापति, महासमिति सदस्यसहित पार्टीका अग्रज नेताको उपस्थितिमा साउन २९ गते बसेको बैठकले पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

उर्लाबारी नगरपालिकामा नेपाली काङ्ग्रेस र नेकपाबीच भएको विवादका विषयमा घुमाउरो पाराले सामाजिक सञ्जालमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोप्रति गुरागाईंले स्टाटस लेखेका थिए । क्षेत्रीय सभापतिसमेत रहेका फागो र उर्लाबारी वडा नं. ७ का वडाध्यक्ष एबं नगरसभापति वीरबल थापाको काम गराईप्रति उनले प्रश्न उठाउँदै आएका थिए ।

यस विषयमा पार्टी निष्कासनमा परेका गुरागाईले पार्टीको विधानविपरीत कसैले निष्कासन गर्न नसक्ने बताएका छन् । ‘पार्टीको विधान र प्रक्रिया हुन्छ’, उनले भने, ‘कसैलाई मन परेन भन्दैमा कार्वाही गर्न मिल्छ ?’