इटहरी – डेनमार्कका द अल्टरनेटीभ पार्टीका संस्थापक अध्यक्ष उफे एल्वेक र नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला बिच भेटघाट भएको छ । भेटघाटमा जलवायु परिवर्तन र त्यसले पार्ने प्रभावको विषयका छलफल भएका छ ।
जुलाई ३१ देखी अगस्ट १४सम्मको युरोपियन भ्रमणमा रहेका कोइरालाले सर्वप्रथम द अल्टरनेटीभ पार्टीका संस्थापक अध्यक्ष तथा पूर्व संस्कृतीमन्त्री एल्वेकसंग भेटघाट गरेका थिए । ४ जनाको टोलीमा विपी अध्ययन प्रतिष्ठान मोरङका अध्यक्ष रञ्जन ओझा, पुनम कोइराला र अतुल कोइराला भ्रमणमा सहभागी थिए ।
फ्रान्स भ्रमणमा रहेका एल्वेक, कोइराला लगायतको टोली डेनमार्क पुगेको जानकारी पाएपछी ट्रेन चढेर भेट्न आएका थिए । १ घण्टा लामो भेटघाटमा नेपाल र डेनमार्कको राजनैतिक इस्यूमा कुरा भएको भ्रमण टोलीका सदस्य ओझाले जानकारी दिए । ‘राजनैतिक दलले अब उजागर गर्नुपर्ने ग्लोबल इस्युका विषयमा लामो छलफल भएको छ । ’ ओझा भने ।
‘डेनिसहरू दिगो विकासको विषयमा अलिबढीनै चिन्तित छन् ।,’ उनी भन्छन्– ‘नेपाल जस्तो देशले विदेशी मुलुकसँगको निर्भरता भन्दा आफ्नै युवा जनशक्तिको उपयोगले दिगो विकास हुनसक्ने उनीहरूको बुझाई छ ।’
कुराकानीको क्रममा विश्व तापमानलाई कम गर्न इलेक्ट्रिक कारको प्रयोग बढाउने देखी कोइला र तेल बाट चल्ने उद्योग बन्द गर्ने अभियान चालिएको एल्वेकले बताए । जलवायु परिवर्तनले नेपाल जस्तो देशले भोग्नुपरेका समस्या र त्यसबाट बच्न सकिने उपायको बारेमा समेत बहस भयो । जलवायु परिवर्तनको कारण गरिबी बढ्दै गएको विषयलाई डाक्टर कोइरालाले उठाएका थिए ।
पर्यावरण मैत्री विकासलाई प्राथमिकता दिन नेपाल तयार रहको उनले बताए । एल्वेकले आर्थिक विकासको लागी पनि पर्यावरणमा ध्यान दिनुपर्ने सुझाएका थिए । भेट पछि एल्वेक र उसको पार्टीलाई कोइरालाले सगरमाथाको फोटो उपहार दिएर भिजीट नेपाल २०२० को निमन्त्रणा समेत गरे । उनीहरूले पनि नेपाल आउने प्रतिबद्धता जनाइसकेका छन् । इमेल मार्फत पनि निमन्त्रणा पठाइसकिएकोले आउने मिति तय हुन मात्र बाँकी रहेको ओझा बताउँछन् ।

युरोपियन मुलुकको भ्रमण लगायत भेटघाटको प्रबन्ध उनै ओझाले मिलाएका थिए । सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको जलवायु परिवर्तन सम्बन्धीको विश्व वातावरण सम्मेलनमा ओझा प्रमुख अभियन्ताको रूपमा डेनमार्कमै थिए । तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले सगरमाथा आधारशिवीर कालापत्थरको ढुङ्गा लिएर डेनमार्क पुगेका थिए । आफ्नै अगुवाइमा नेपाली हिमाल आरोहीलाई हिमाल चढ्ने ड्रेसमै कोपनहेगेनमा र्याली निकालिएको उनी सुनाउँछन् ।

पछिल्लो डेनमार्क भ्रमणको क्रममा नेपाली युवाहरू, डेनमार्कका प्राध्यापक, तथा राजनैतिक विश्लेषकहरूसँग समेत छलफल भएको ओझाले बताए । डेनिस राजनैतिक पार्टीहरू पछिल्ला ग्लोबल वार्मीङको इस्युमा धेरै संवेदनशील रहेको आफूले पाएको उनी बताउँछन् ।
सोही क्रममा ‘द अल्टरनेटीभ पार्टी’ का पूर्व नेपाल प्रमुख टम ह्यान्सन संगपनि कुराकानी भएको थियो । उनले पनि जलवायु परिवर्तनमा मिलेर काम गर्न सुझाएको ओझाको भनाई छ । द अल्टरनेटीभ पार्टीले ग्रीनरीको इस्युलाई प्रमुखताका साथ उठाइरहेको छ । विश्व तापमान र जलवायु परिवर्तन एउटा खास देशको मात्र नभएर विश्वकै ज्वलन्त समस्या रहँदै आएको छ ।
जलवायु परिवर्तन मार्फत पछिल्लो समय नेपालले वार्षिक ९ अर्व रुपैयाँ गुमाउँदै आएको छ । त्यसैले पनि अब यस विषयमा संवेदनशील बन्नुपर्ने ओझाको बुझाई छ । 

डेनमार्क र नेपाल बिचमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो । त्यसैक्रममा मोरङको सुन्दरहरैचा नगरपालिका र डेनमार्कको कोपनहेगेन नगरपालिका बिचमा भगिनी सम्बन्ध स्थापित गराउने बारेपनि छलफल भएको उनी बताउँछन् । ‘आपसी मुद्धाहरु सेयर गर्ने र विकास निमार्णमा सहकार्य गर्ने भन्नेबारे कुरा भएको छ ।’ ओझाले सुनाए ।
हाल नेपालमा डेनमार्कको राजदूतावास नभएको अवस्थामा समस्या परिरहेको छ । दुई वर्ष अगाडी डेनमार्कले ५ देशबाट आफ्ना राजदूतावास हटाउने निर्णय गरेको थियो । त्यसमा नेपाल पनि पर्‍यो । डेनमार्कको विकाशको अवधारणालाई नेपालमा अबलम्न गर्न सकिने आधारहरू रहेको कोइरालाले बताएका थिए ।
१४ दिनेको युरोप भ्रमणमा निस्किएको कोइराला नेतृत्वको टोलीले युरोपमा बस्ने नेपालीसँग साक्षात्कार कार्यक्रम गरेको थियो । विदेशमा बस्ने नेपालीको समस्या र अपेक्षाको विषयमा बहस चलाइएको हो । विदेशमा परिश्रम गर्ने नेपालीहरूले नेपालका स्थायी सरकार चाहेको र लगानीको वातावरण भए नेपालमा लगानी गर्न आतुर रहेको ओझा बताउँछन् । तर पछिल्लो समय नेपालमा लगानी गर्दा लगानी नै धरापमा पर्ने भएकोले धेरै नेपालीहरूले आफ्नो कमाई विदेशमै लगानी गर्ने गरेको ओझाको भनाइछ ।