धनकुटाः विदेशी भूमिमा रहेर नेपालको लागि काम गर्ने धेरै संस्था छन् । जसमध्ये एक हो धनकुटा सेवा समाज दक्षिण कोरिया । कोरियामा रहेका धनकुटेलीले यस संस्थामार्फत् धनकुटासहित विभिन्न जिल्लामा सहयोग गर्दै आएका छन् । सहयोग सङ्कलनको लागि यस पटक समाजले बृहत साङ्गीतिक कार्यक्रम गर्ने तयारी गरेको छ ।

‘धनकुटेली शान, शिक्षा स्वास्थ्य पहिलो अभियान, दीर्घकालीन सेल्टर व्यवस्थापन’ नारा दिइएको ‘धनकुटा सांस्कृतिक सौगात भाग एक’ कार्यक्रम आउँदो सेप्टेम्बर १२ मा कोरियामा हुन लागेको हो । यो कार्यक्रम कोरियाको राष्ट्रिय पर्वको अवसर पारेर गर्न लागिएको आयोजक संस्था धनकुटा कोरिया समाजका अध्यक्ष परदेश राई (चाइनिज कान्छा)ले बताए ।

साङ्गितिक कार्यक्रममा निमा रुम्बा, अन्जु पन्त, पुष्पन प्रधान, साजन राई, देवेन चेम्जोङ, जसोदा सुब्बा, भेटेन, आश्रा कुँवर लगायतका गायकको प्रतुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रमको अनुमानित लागत करीब ५० लाख रुपैयाँ रहेको अनुमान आयोजकले गरेको छ । सहयोग सङ्कलनबाट करीब २० लाख तथा बाँकी रकम टिकट बिक्रीबाट सङ्कलन गरिने जनाइएको छ । कार्यक्रमबाट नाफा भएको रकमको २५ प्रतिशत धनकुटाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा खर्च गरिने जनाइएको छ । त्यस्तै बाँकी नाफाबाट भने कोरियामै दीर्घकालीन सेल्टर व्यवस्थापनमा खर्च गरिने अध्यक्ष राईले बताए ।

धनकुटा सेवा समाज दक्षिण कोरिया २००९ सालमा स्थापना भएको संस्थाका सचिव राजेन्द्र शाक्यले जनाए । संस्थाले धनकुटामा गर्न लागेको यो पहिलो कार्यक्रम हो । कोरियाको इतिहासमै धनकुटेलीले गर्न लागेको बृहत कार्यक्रम भएको संस्थाका उपाध्यक्ष कुमार भट्टराईले बताए ।