धरानः धरानस्थित इडेन एकेडेमीले धरानमा आइतबार आयोजना गरेको शैक्षिक परामर्श मेलामा ५ सय भन्दा बढी विद्यार्थीले परामर्श लिए । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

इडेन एडु फेयरको २०१९ नामक शैक्षिक परामर्श मेलामा सम्बन्धित कलेजका प्रतिनिधिहरू नै आएर जानकारी दिएका छन् । इडेन एकेडेमीका अध्यक्ष मोहन तिगेलाका अनुसार अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजिल्यान्ड र भारतका विभिन्न कलेज र विश्वविद्यालयका प्रतिनिधिहरू आएर विद्यार्थीलाई परामर्श दिएका हुन् । वैदेशिक अध्ययन गर्न जानका लागि आवश्यक तयारीसँगै कलेजको अवस्था, गुणस्तरीय अध्ययनका लागि उपयुक्त कलेजको विषयमा जानकारी गराएका थिए । उनका अनुसार विज्ञान, व्यवस्थापन, पर्यटन, हस्पिटालिटी, मानविकी, मेडिकलदेखि इञ्जिनियरिङ सङ्कायमा पढ्न चाहने विद्यार्थीहरू कलेज र विश्वविद्यालयकै प्रतिनिधिबाट जानकारी गराइएको थियो ।

नेपालमा शैक्षिक गुणस्तर राम्रै भए पनि विदेशमा प्रयोगात्मक अध्ययन पनि हुने भएकाले वैदेशिक शैक्षिक अध्ययनका लागि विद्यार्थी लालयित भएको सहभागी आदर्श शाक्य बताउँछन् । उनले भने, ‘नेपालमा राम्रो छ, तर विदेशको अध्ययन अझै प्रभावकारी हुने भएकाले जान इच्छुक हुन्छन् ।’

इडेनले धरानमा विगत ११ वर्षदेखि वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श दिइरहेको छ । वैदेशिक अध्ययनमा जान चाहने पूर्वका विद्यार्थीलाई आवश्यक तयारीको लागि काठमाडौं पुग्नुपर्ने बाध्यता हट्दै गएको तिगेलाको भनाइ छ ।

विशेषगरी नेपाली विद्यार्थी अष्ट्रेलिया, न्युजिल्याण्ड, फ्रान्सलगायतका युरोपियन देशमा जान चाहने गरेका छन् । पूर्वमा सयौंको सङ्ख्यामा वैदेशिक अध्ययनका लागि शैक्षिक परामर्श केन्द्र खोलिएका छन् । उनीहरूले विद्यार्थीका लागि शैक्षिक परामर्श मेलाको आयोजना गर्ने गरेका छन् विदेशका विश्वविद्यालय र कलेजका प्रतिनिधिको उपस्थितिमा शैक्षिक मेलामा परामर्श दिने गरिन्छ ।

शैक्षिक परामर्श मेलाको अवसरमा आयोजना गरिएकोे लक्की ड्रमा एक जना भाग्यशाली विद्यार्थीले ल्यापटप जितेका छन् । मेलामा परामर्श लिन आएका सहभागीमध्ये एक जनालाई लक्की ड्रमार्फत् ल्यापटप प्रदान गरिएको हो ।

लक्की ड्रमा इडेनमा आइएलएस पढ्दै गरेकी धरान २ की माया लिम्बूले ल्यापटप जितेकी हुन् । सोमबार इटहरीको दुर्गा पार्टी प्यालेसमा शैक्षिक मेला हुने बताइएको छ ।

गुणस्तरीय शिक्षा नभएर होइन नेपाली विद्यार्थी देशको परिस्थितिका कारण पनि विदेशिन चाहन्छन् । कतिपय विद्यार्थीले विदेशको अध्ययन र अनुभव आफ्नै स्वदेशका लागि उपयोगमा ल्याएका छन् तर अधिकांश विद्यार्थी उतै पलायन हुने गरेका छन् । जसले गर्दा देशमा दक्ष जनशक्तिको अभाव खड्किइरहेको छ ।

eden mela dharan  (1)