धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हरियाली बनाउन ग्रीन बेल्ट अभियान शुरु भएको छ ।
प्रतिष्ठानका पूर्व विद्यार्थीको पहलमा प्रतिष्ठानका शिक्षक, कर्मचारीको सहकार्यमा ग्रीन बेल्ट अभियान शुरु भएको हो । ग्रीन बेल्ट अभियान अन्तर्गत शनिबार प्रतिष्ठान परिसरमा वृक्षरोपण गरिएको छ ।
प्रतिष्ठानको पुनस्र्थापना केन्द्रको परिसरमा २ सय १० ओटा बिरुवा रोपिएको हो । पछिल्लो समय हरियाली नहुँदा वातावरणमा समेत समस्या हुँदै गएकाले वृक्षारोपणको अभियान शुरु गरिएको अभियन्ता डा. अशोक ऐरले बताए ।
प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनाल, निर्देशक प्रा.डा. गौरीशंकर शाह, प्रवक्ता प्रा.डा. पशुपति चौधरी लगायतका विभागीय चिकित्सकहरूले वृक्षरोपण गरेका थिए ।
प्रतिष्ठानमा अध्ययन गर्न वा उपचार गराउन आउने सबैले वृक्षरोपण गरून् भन्ने सन्देश दिनका लागि पनि वृक्षरोपणले सहयोग गर्ने ऐरको भनाइ छ । उनले भने, ‘प्रतिष्ठानमा आएका विद्यार्थी हुन् वा बिरामी, यहाँको हरियाली देखेर उनीहरूलाई पनि आफ्नो गाउँठाउँमा हरियाली बनाउन उत्प्रेरणा जगाउँछ भन्ने पनि हो ।’
लोप हुँदै गएको जमुना, सिरिस, अशोक, विजयसाल लगायतका बिरुवाहरू प्रतिष्ठान परिसरमा रोपिएका छन् । बोटबिरुवा मासिँदै गएपछि स्वास्थ्यमा समेत असर गर्ने भएकाले प्रतिष्ठानमा ग्रीन बेल्ट अभियान सञ्चालन गरिएको जनाइएको छ ।