धरानः प्रयोगात्मक तरिकाले अध्यापन गर्ने विद्यालयलाई प्रदान गरिने अन्तर्राष्ट्रिय विद्यालय शिक्षा पदक धरानस्थित आइडियल बोर्डिङ स्कुलले पाएको छ ।
ब्रिटिस काउन्सिलले बर्सेनी प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय अवार्ड विद्यालय शिक्षा पदक भदौ ४ गते आइडियललाई प्रदान गरिएको हो । विभिन्न अतिरिक्त क्रियाकलापमा प्रयोगात्मक पाठ्यक्रमको आधारमा आइडियल छनोटमा परेको हो ।
बेलायती राजदूत रिचर्ड मोरिस र शिक्षा मन्त्रालयका सचिव खगराज बरालले विजेता विद्यालयलाई अवार्ड प्रदान गरेका थिए । ४१ ओटा देशमा ब्रिटिस काउन्सिलले आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको छ । छनोट हुनका लागि अतिरिक्त क्रियाकलाप र विभिन्न क्रियाकलापको मापदण्ड पूरा हुनुपर्दछ । विद्यालयले सम्पूर्ण मापदण्ड पु¥याएर नै छनोटमा परेको प्रिन्सिपल तथा विद्यालयका निर्देशक सागर खड्काले जानकारी दिए ।
धार्मिक स्थलको संरक्षण सम्बद्र्धन गर्ने तरिका, भूकम्पबाट हुने क्षति न्यूनीकरण, बाढी पहिरो लगायत प्राकृतिक प्रकोप र तिनबाट जोगिने उपाय, स्थानीय जनावर र तिनको संरक्षण, मौलिक पोशाक र पहिचानको सम्बद्र्धन, मौलिक खाना बनाउने तरिका र विद्युतीय साक्षरतासम्बन्धी प्रोजेक्टमा आइडल स्कुलका विद्यार्थीले अध्ययन अनुसन्धान गरेपछि छनोटमा परेको निर्देशक खड्काले बताए ।
धरानको दन्तकाली मावि र ज्योति प्राविसँग प्रत्यक्ष तथा बेलायतको सेन्ट जोसेफ हाइस्कुल, सेन्ट मेरी प्राइमरी स्कुल, पब्लिक हाइस्कुल र गभर्मेन्ट गल्र्स हाइस्कुलसँग प्रयोगात्मक रूपमा सिक्ने सिकाउने कार्ययोजना सम्पन्न गरिएको थियो । यसअघि धरानकै युरेका आवासीय मावि र केके इन्टरनेशनल स्कुलले पनि यस्तो अवार्ड पाइसकेका छन् ।