धरानः नेपाल औषधी व्यवसायी सङ्घ सुनसरीमा रवीन्द्र घिमिरेको अध्यक्षतामा कार्यसमिति निर्वाचित भएको छ ।

शनिबार भएको सङ्घको पहिलो अधिवेशनले घिमिरेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो । सङ्घीय संरचना अन्तर्गत भएको पहिलो निर्वाचनले उपाध्यक्षमा प्रभातकुमार श्रेष्ठ, महासचिवमा सुवास पौडेल, सचिवमा पंकज झा, कोषाध्यक्षमा दीपेन्द्रकुमार साह र सहकोषाध्यक्षमा शत्रुधनप्रसाद साहलाई निर्वाचित गरेको गरेको छ । त्यसैगरी सदस्यमा सन्तोषकुमार सिंह, राजु श्रेष्ठ र पशुपति चौधरी चयन भएका छन ।

सङ्घको निर्वाचनमा ३ वटा प्यानल बिच प्रतिष्पर्धा भएको थियो । धरानका मचिन लिम्बू, इटहरीका नवीन गौतम र रवीन्द्र घिमिरेको प्यानल चुनावी मैदानमा थिए । निर्वाचनमा तिनै प्यानलबाट निर्वाचित भएका छन् । निर्वाचित महासचिव सुवास पौडेलका अनुसार लिम्बूको प्यानलबाट महासचिवसहित ६ जना, गौतमको प्यानलबाट कोषाध्यक्षसहित २ जना र निर्वाचित अध्यक्ष घिमिरेको प्यानलबाट उनी मात्रै निर्वाचित भएका थिए । सङ्घका ४ सय २८ सदस्यमध्ये ३ सय ३७ जनाले मतदान गरेका थिए ।

पहिलो अधिवेशनको उद्घाटन सत्र नेपाल औषधी व्यवसायी सङ्घ कोशीका अध्यक्ष कुमार खतिवडाको अध्यक्षता तथा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपालका प्रदेश नम्बर १ का अध्यक्ष डा. शंकरप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।