काँकरभिट्टाः झापाको मेचीनगरमा शनिबार खानेपानी गुणस्तरसम्बन्धी एक दिने अभिमुखीकरण तालीम सम्पन्न भएको छ ।
पिउने पानीका कारण लाग्ने विभिन्न रोगको सङ्क्रमणबाट बच्ने उपायका बारेमा जानकारी दिने उद्देश्यले तालीम आयोजना गरिएको थियो ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गतको पानी सुरक्षा समितिले आयोजना गरेको तालीममा पानी परीक्षण प्रयोगशालका इटहरीका प्रमुख रमेशकुमार यादवले सहजीकरण गरेका थिए ।
उनले शुद्घ र सफा पानी पिउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएको बताउँदै पानी दूषित हुने कारण, त्यसबाट लाग्ने रोगको बारेमा बेलैमा कसरी सतर्कता अपनाउन सकिन्छ, कसरी शुद्घ र सफा पानी उत्पादन गर्न सकिन्छलगायतका विषयमा सहभागीलाई तालीम प्रदान गरेका थिए ।
उनले पानीका कारण धेरै प्रकारका रोग लाग्ने भएकाले यदि हरेकले शुद्घ र सफा पानी पिउने हो भने धेरै रोग्बाट बच्न सकिने जानकारी दिए । समयसमयमा पानी परीक्षण र शुद्धीकरण गर्नुपर्नेमा उनको जोड थियो ।
समाजसेवी कृष्णप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष हर्कबहादुर फियाक लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा सहारा नेपालका कार्यक्रम संयोजक दीपेश ओली, नेकपाका झापा जिल्ला कमिटी सदस्य देवकुमार राई, राप्रपाका सुशील आचार्य, संस्थाका पूर्व अध्यक्ष सूर्यप्रकाश उप्रेती, संस्थाका लेखा समिति सदस्य नारायणबहादुर बस्नेत, वातावरण समिति सदस्य पारस सुवेदी, क्षेत्रगत समितिका तर्फबाट डम्बरबहादुर पुरीलगायतले खानेपानीका विषयमा आआफ्नो धारणा राखेका थिए ।