इटहरीः इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेका अस्थायी संरचना र त्यहाँ राखिएका सामग्री हटाउने भएको छ ।

सडक सुशासन कायम गर्न पूर्व पश्चिम सडकको लबीपुर चोकदेखि रामधुनी नगरपालिकाको सीमासम्म सडकको दायाँबायाँ साढे ८२ फिट सफा गर्न लागिएको हो । एक साता समय दिएर सम्बन्धित पक्षलाई बाटो सफा गर्न समय दिने र सो समयमा सो काम नगरे उपहानगरले आफैँ हटाउने नगरप्रमुख द्वारिकलाल चौधरीले बताए ।

सडक सुशासन अभियान शुरु गर्नुअघि उपमहानगरले सम्बन्धित विषयगत कार्यालय र सबै सरोकारवाला पक्षसँग छलफल गरेको थियो । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको हो ।

कार्यक्रममा सडकडिभिजन कार्यालय, टेलिकम, विद्युत, यातायात, उद्योग वाणिज्य सङ्घ, जनप्रतिनिधिलगायतको सहभागिता थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजालले सडक सुशासन प्रदेश सरकारको पनि एउटा मुख्य अभियान रहेको बताए । मेयर चौधरीले सडक क्षेत्राधिकारभित्र केही पनि सामान नराख्ने वातावरण बनाउन उद्योग वाणिज्य सङ्घसँग आग्रह गरे । सात दिनभित्रमा सडक क्षेत्राधिकारभित्र रहेका टेलिकमका सबै पोल हटाउन मेयर चौधरीले टेलिकमसँग आग्रह गरे ।

विद्युत प्राधिकरणका प्रतिनिधिले भने बिजुलीका पोल हटाउन प्राधिकरणले सहयोग गर्ने तर त्यसबापत लाग्ने खर्च स्थानीय तहलेनै बेहोर्नुपर्ने बताए ।