धनकुटाः जनता माध्यमिक विद्यालय महालक्ष्मी धनकुटाले ९ देखि १२ कक्षालाई प्रविधिमैत्री कक्षाको रूपमा बिकास गर्ने तयारी गरेको छ ।

विद्यालयले ९ देखि १२ कक्षासम्मका सबै विषय ल्यापटप र प्रोजेक्टरको सहयोगमा पठनपाठन गराउने तयारी गरेको हो । विद्यालयले आइतबार एक कार्यक्रम गरी ९ देखि १२ कक्षा पढाउने सबै शिक्षकलाई एक÷एक ओटा ल्यापटप वितरण गरेको छ ।

नमूना विद्यालय कार्यक्रम, महालक्ष्मी नगरपालिका तथा प्रदेश सरकारको सहयोगमा २० ओटा ल्यापटप वितरण गरेको हो । ९ देखि १२ सम्मका सबै कोठामा प्रोजेक्टरको व्यवस्था गरी शिक्षकले ल्यापटप र प्रोजेक्टरको सहयोगमा कक्षा सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नगेन्द्र भट्टराईले बताए ।

२ वर्ष अघिदेखि नै प्रविधिमैत्री कक्षा सञ्चालन गर्ने तयारी गरे पनि प्रविधि अभावका कारण यस वर्षबाट मात्र सञ्चालन गर्न लागिएको हो । आगामी चार वर्ष भित्रमा सबै कक्षासहित जनता बहुमुखी क्याम्पसमा समेत सो कार्यक्रम लागू गरिसक्ने भट्टराईले बताए ।

सो कार्यक्रमको लागि महालक्ष्मी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकारी खगेन्द्र नेपालले ५० हजार रुपैयाँ बराबरका विभिन्न सामग्री ती विद्यालयलाई दिइने बताए ।