इटहरीः लायन्स क्लब अफ इटहरी ग्रीन सिटी को आयोजनामा सोमबार आँखा जाँच शिविर सम्पन्न भएको छ ।
संस्थाका सचिव उमानाथ दाहालको संयोजकत्व तथा अध्यक्ष गोविन्द थापाको अध्यक्षतामा मोरङको रतुवामाईमा शिविर सम्पन्न भएको हो ।
शिविरमा २ सय ११ जना आँखाका बिरामीले स्वास्थ्य सेवा लिएका थिए । तीमध्ये २८ जनाको मोतिबिन्दुको अप्रेसन र ३ जनाको आँखाभित्र मासु पलाएको अप्रेसन इटहरी आँखा हस्पिटलको सहयोगमा निःशुल्क गरिने आयोजकले जनाएको छ ।
रतुवामाई नगरपालिकाका मेयर रविन राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष कन्हैयालाल राजवंशी पनि उपस्थित थिए । लायन्स क्लब इन्टरनेशनल ३२५ ए वानका डिस्ट्रिक चेयर पर्सन निर्मला चौधरी, सुनसरी जिल्ला मालपोत तथा भूमिसुधार कार्यालयका प्रमुख सूर्यबहादुर थापा, स्थानीय सङ्घ, संस्था, लायन्स क्लब अफ इटहरी ग्रीन सिटीका पदाधिकारी शिवहरि भजन कीर्तन मण्डलीका सदस्य लगायत कार्यक्रममा सहभागी थिए ।