तेह्रथुमः तेह्रथुमको आठराई गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा बन्द भएको छ ।

केन्द्रका स्वास्थ्यकर्मीलाई कार्यालय समयमा कार्यालयमै हातपात गर्नेलाई कार्वाहीको माग गर्दै भदौ ९ गतेदेखि सम्पूर्ण सेवा बन्द भएको बताइएको छ ।

स्वास्थ्य केन्द्रले सोमबार जारी गरेको सूचनामा ‘दोषीलाई कार्वाही नहुन्जेलसम्म यस प्राथमिक स्वास्थ्य केन्द्रका सम्पूर्ण सेवाहरू बाध्य भएर बन्द भएको’ उल्लेख छ ।

भदौ ८ गते आइतबार स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट रोशनकुमार नायकलाई कार्यालय भित्रै स्थानीय दिपेश थपलियाले हातपात गरी फरार भएको इलाका प्रहरी कार्यालय संक्रान्ति बजारले जनाएको छ । फरार थपलियाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।