इटहरीः कवि एवंम लेखक रमेश सायनलाई पदमश्री पुरस्कारबाट सम्मानित गरिने भएको छ । खेमलाल हरिकला लामिछाने समाज प्रतिष्ठानले हरेक वर्ष एक अब्बल कृतिलाई पुरस्कार दिनेगर्छ । सोहिअनुसार २०७५ सालमा प्रकाशित सायनको पुस्तक छुटेका अनुहारलाई उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।
छुटेका अनुहारमा लेखक सायनले आफैँले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको सूक्ष्म चित्रण अनुभूतिको गहिराइसम्म पुगेर कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । पद्मशी साहित्य पुरस्कारको राशि रू २ लाख रहेको छ । २०६३ साल देखि प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।
त्यस्तै संस्थाले पद्म श्री साधना पुरस्कार इतिहासविद् डाक्टर महेशराज पन्तलाई दिने निर्णय गरेको छ ।