विराटनगर: प्राविधिक गुणस्तरमा सुधार सहित कार्यालयलाई अझ प्रविधिमैत्री बनाउन विराटनगर महानगरपालिका सक्रियरुपमा लागेको छ । नागरिकलाई सरल, सहज र छिटो छरितो तरिकाले सेवा दिने अभियानलाई अझ चुस्त बनाउन मङ्गलवार कार्यालयमा रहेका कर्मचारीहरूलाई तालिम समेत प्रदान गरिएको छ । वडास्तरबाटै अनलाइनमार्फत एकीकृत सम्पत्ति कर सङ्कलनदेखि अन्य सेवा महानगरले दिइरहेको भए पनि यसलाई अझ गुणस्तरीय र सहजरुपमा व्यवस्थित गर्न महानगर लागि परेको छ ।
सामाजिक सुरक्षा भत्ता, जग्गा तथा अन्य राजश्व सङ्कलन, पञ्जिकरणलगायत काम अनलाइनमार्फत भइरहेका छन् । स्मार्ट सिटी बनाउने तयारीमा जुटेको महानगर आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन इन्जिनियर सहित आइटी अफिसरहरूलाई समेत तालिम प्रदान गरिरहेको विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए । विराटनगर महानगर पूर्णरुपमा प्रविधिमैत्री बनेसँगै विराटनगरका हरेक कामका योजना ,तीनको प्रगति ,उपभोक्ता समितिका पदाधिकारी र तीनले गरिरहेका सबै काम अनलाइनमा राखिने छ । जनताले सहजरुपमा नगरको विकास र अवस्था वारे जानकारी पाउन सक्नेछन् ।
विराटनगरलाई स्मार्ट सिटी बनाउने अभियानमा होमिएका महानगरका मेयर भीम पराजुली विराटनगरवासीले चाहेको जस्तो नगर बनाउने बताउछ्न् । अबको एक वर्षमा नगरका अधिकांश भाग पिच भइसक्ने र नगरवासीको चाहना अनुरूपका संरचना बन्ने दाबी पराजुलीको छ । नगर प्रविधिमैत्री र जनअपेक्षाअनुरुपको सहर बने सँगै विराटनगर समृद्ध बन्नेमा पराजुली आशावादी देखिन्छन् ।