ताप्लेजुङः हङकङमा बसोबास गर्दै आएका ताप्लेजुङेले सदरमुकाम फुङलिङमा सार्वजनिक शौचालय निर्माण गरिदिएका छन् । हङकङमा बसेर विभिन्न पेशा व्यावसाय गर्दै आएका उनीहरूले फुङलिङको तोक्मेडाँडा स्थित हटिया बजार लाग्ने क्षेत्रमा शौचालय निर्माण गरिदिएका हुन् ।
२८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त शौचालय सोमबार एक कार्यक्रमका बीच फुङलिङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ताप्लेजुङ समाज हङकङको अगुवाइमा शौचालय निर्माणका लागि बजेट सङ्कलन गरिएको थियो । फुङलिङ बजारमा सार्वजनिक शौचालय नहुँदा आन्तरिक तथा बाह्य पर्यटक साथै सर्वसाधारणलाई समेत समस्या हुँदै आएको थियो ।
आफ्नो जन्मथलोको मुख्य बजारमा सार्वजनिक शौचालय नहुँदा देखिएको समस्यालाई मध्यनजर गर्दै शौचालय निर्माणमा आफूहरू जुटेको समाजका उपाध्यक्ष लोकेन्द्र आङबुहाङले बताए ।
शौचालयको उद्घाटन गर्दै मेयर छत्रपति प्याकुरेलले अब चाँडै कर्मचारी राखेर शौचालयको व्यवस्थापन गर्ने जनाए । सार्वजनिक शौचालय नहुँदा यहाँ आउने पर्यटक एवम् सर्वसाधारणले शौच गर्नुपरे होटल तथा नजिकैको जङ्गलतर्फ जानुपर्ने बाध्यता थियो ।