इटहरीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरीको पार्टी कार्यालयमा सोही पार्टीका युवा नेताले तालबन्दी गरेका छन् ।
नेकपा इटहरीको पार्टी नेतृत्व अलोकतान्त्रिक ढङ्गबाट अगाडि बढेको भन्दै युवा नेताले तालाबन्दी गरेका हुन् । उनीहरूले सूचना नै प्रकाशित गरी तलाबन्दी गरिएको जानकारी दिएका छन् ।
पूर्व एमाले क्षेत्रीय कमिटी सदस्य सुजन लामाको नेतृत्वको टोलीले तालाबन्दी गरेको हो । लामासँगै युवा सङ्घ सुनसरीका पूर्व जिल्ला सदस्य राजेश राई लगायतका युवाले तालबान्दी गरेका हुन् ।
इटहरीको नगर कमिटी अपारदर्शी र मापदण्ड विपरीत अगाडि बढेको भन्दै तालाबन्दी गरिएको त्यहाँ टाँसिएको सूचनामा उल्लेख छ । इमान्दार र प्रतिबद्ध कार्यकर्तालाई उपेक्षा गरेर गरिएको समायोजनको निर्णय सच्याउन माग गरिएको छ ।
मापदण्ड पुगेका कार्यकर्तालाई नगर कमिटीमा राख्न माग गरिएको छ । त्यस्तै, मनलाग्दो ढङ्गले गरिएको समायोजन प्रक्रियामा नेताहरूले कार्यकर्तासामु आत्मालोचना गरियोस् भनी सूचनामा उल्लेख गरिएको छ । मागहरू पूरा नभएसम्म तालबन्दी नखुल्ने बताइएको छ ।
दुई ठूला पार्टी एक हुँदा शक्तिशाली बन्नुपर्नेमा झन् कमजोर बनाउने काम भएकाले आन्तरिक सङ्घर्ष गर्नुपरेको तालाबन्दीको नेतृत्व गरेका लामा बताउँछन् । पार्टीमा योगदान पुर्याएकालाई भन्दा नेताको आशीर्वाद पाएकालाई पदमा पुर्याइएको भन्दै विरोध गरको उनको भनाइ छ ।