विराटनगरः प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले जनताप्रति उद्धातरदायी भएर काम नगरे नागरिकले गणतन्त्रको विकल्प खोज्न सक्ने आशङ्का व्यक्त गरेका छन् । प्रदेश सभाको सुशासन तथा योजना समितिले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै राईले जनताले नयाँ व्यवस्थाको विकल्प खोजे मुलुक कता तिर जाने भन्दै प्रश्न गरे ।

उनले प्रदेश एकको कामप्रति सन्तुष्ट हुने नसकेको भन्दै राजनीतिक नेतृत्व र कर्मचारी प्रशासन संयन्त्र सच्चिनुको विकल्प नभएको तर्क गरे । सरकार कठोर कदम चाल्न तयार भएको भन्दै सुशासनमैत्री विकासको खाँचो रहेको औँल्याए ।

राईले पुरानो मनस्थिति र क्यालेण्डरबाट चल्ने तरिका बदल्नुको विकल्प नभएको बताए । विगतमा प्रदेश सरकारले गरेको कार्य सन्तोषजनक नभएको भन्दै यो पटक देखि कात्तिक मसान्तभित्र योजनाको ठेक्का लगाइ सक्नुपर्ने र जेठ मसान्तभित्र योजना सम्पन्न हुनुपर्ने गरी नवीन ढङ्गले सरकारको तयारी थालेको समेत जानकारी दिए ।

कार्यक्रममा विज्ञहरू काशीराज दाहाल र प्रा.डा. पुष्पराज कँडेलले सुसाशनमैत्री प्रशासनको बारेमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।