धरानः प्रदेशको भूगोलले लिम्बुवानको पहिचान मात्रै नभई अन्य पहिचानलाई पनि समेटेको हुनाले प्रदेश नम्बर १ को नामकरण संयुक्त पहिचानको आधारमा गरिनुपर्ने निष्कर्ष निकाल्दै लिम्बुवान राष्ट्रिय मोर्चा नेपालको एकता भेला सम्पन्न भएको छ ।
शुक्रबार धरानमा सम्पन्न साबिक एमाले सम्बद्ध नेपाल लोकतान्त्रिक किरात लिम्बू सङ्घ र साविक माओवादीसम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाबीचको एकता भेलाले गरेको निर्णय शनिबार सार्वजनिक गरिएको हो ।
निर्णय सार्वजनिक गर्दै मोर्चाका संयोजक मुक्सामहाङ मेन्याङ्बोले एकता भेलाले १२ बुँदे सैद्धान्तिक सहमतिपत्रमा लिम्बुवान स्वायत्त प्रदेशको दाबी गर्दै प्रदेशको भूगोल बहुपहिचान समेटेका हुनाले संयुक्त पहिचानको आधारमा नामकरण गरिनुपर्ने निष्कर्ष निकालेको बताए ।
उनले भने, ‘हामी माक्र्सवाद र लेनिनवादको सिद्धान्तको रूपमा मान्छौं, आफ्नो पहिचानलाई मात्रै उठाउँदा अरुको पनि पहिचानलाई चोट पुग्न सक्छ । त्यसैले बहुपहिचानको आधारमा नामकरण उपयुक्त हुन्छ ।’
प्रदेशको नाम राख्दा उत्पीडित जातिको संयुक्त पहिचान झल्कने नामकरण गर्नुपर्ने उनले बताए ।
मोर्चाको भेलाले सहसंयोजकमा त्रिवेणी चोङबाङलाई तोकेको छ । भेलाबाट २ सय २५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको उनले जानकारी गराए । समितिको पहिलो बैठकले मोर्चाको केन्द्रीय कार्यालय १६ सदस्यीय र विधानमा व्यवस्था भएअनुसार केन्द्रीय सचिवालय ६६ सदस्यीय रहने पनि निर्णय गरेको छ ।
मोर्चाका जिल्ला, प्रवास सम्पर्क तथा स्थानीय तहको एकता भेला सम्पन्न भएपछि मंसिरपछि बृहत राष्ट्रिय भेला तथा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।