धरानः प्रविधिमैत्री शिक्षालाई जोड दिँदै धरान–१५ स्थित हिबिस्कस स्कुल नयाँ व्यवस्थापनका साथ अघि बढ्दै गएको छ ।

२०६३ सालमा स्थापना भएको हिबिस्कस स्कुलको पूर्वाधारको विकाससँगै विद्यालयको गुणस्तरलाई जोड दिँदै अघि बढाउन विगत १८ वर्षदेखि अध्यापनमा अनुभवी शिक्षक पङ्कज झाको व्यवस्थापन समूह लागिपरेको छ । शिक्षामा फरकपन अवलम्बन गर्दै डिग्री हासिल गरिसकेका अनुभवी शिक्षकबाट अध्यापनलाई जोड दिइने विद्यालयका प्रिन्सिपल पवन झाले बताए ।

करीब ४ सयको हाराहारीमा विद्यार्थी रहेको हिबिस्कसमा भौतिक पूर्वाधार पनि छ । गुणस्तरीय शिक्षामा अझै सक्दो जोड दिँदै विद्यालयलाई अघि बढाउन १ साता अघि नयाँ समूहले विद्यालय आफ्नो जिम्मेवारीमा लिएको छ । झाले भने, ‘यसअघि पनि यस विद्यालयले गुणस्तरीय शिक्षा नै प्रदान गरेको हो, अझै यस क्वालिटीलाई सुधार गर्नेछौं, प्रविधिमैत्री शिक्षामा जोड दिएको छ ।’ अबको महिना दिनपछि विद्यालयले पूर्ण स्वरूप फेर्ने झाको भनाइ छ । अभिभावकले चाहेजस्तो शिक्षामा विशेष प्राथमिकता रहेको उनले बताए ।

विद्यार्थीको क्षमताको आधारमा शिक्षा प्रदान गर्दै अतिरिक्त क्रियाकलापमा विद्यार्थीको आकर्षण बढाउने लक्ष्य लिएको विद्यालयका प्रबन्ध निर्देशक गंगाराम कुलुङले बताए । प्ले ग्रुपदेखि १० कक्षासम्म अध्यापन भइरहेको विद्यालयले आउँदो वर्षदेखि नै कक्षा ११ र १२ को अध्ययन पनि शुरु गर्ने भएको छ । व्यवस्थित पूर्वाधार, सेमिनार हल, खेलमैदानको सुविधा सम्पन्न बनाउन नयाँ समूहको योजना रहेको कुलुङले बताए ।

विद्यालयमा डिग्री पास गरेका शिक्षक शिक्षिका आएका छन् । अहिले नै ५ जना डिग्री पास गरेका शिक्षकबाट अध्यापन हुँदै आएको छ । अन्य विद्यालयको भन्दा शिक्षाको गुणस्तरमा वृद्धि हुन्छ भन्ने अपेक्षा गरेको छ । झाले भने, ‘अतिरिक्त क्रियाकलापलाई पनि विशेष जोड दिँदै आएका छौं, तेक्वान्दो, नृत्य, क्वीज कन्टेष्ट लगायत खेलकुदका विधामा फोकस गरेका छौं, यस्तै, कमजोर विद्यार्थी छन् उनीहरूको पढाइ राम्रो बनाउन पनि लागि परेका छौं ।’

विद्यालयले आफ्नै जग्गा लिने तयारीमा गरेको छ । भाडाको भवनमा अध्ययन हुँदै आएको विद्यालयले आफ्नै भवन निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय कटिबद्ध रहेको उनले बताए ।