बेलबारीः नेकपाको एकीकरणको लामो समयपछि स्थानीय कमिटीले पूर्णता नपाउँदै विवाद हुन थालेको छ । बेलबारीमा नेतृत्वले एकलौटी ढङ्गले नगर तथा वडा कमिटी गठन गरेको भन्दै असन्तुष्ट पक्षले जिल्ला कमिटीमा उक्त निर्णय खारेज गरेर पुनर्गठन गर्न माग गरेको छ ।

२ सय ३६ जना सङ्गठित सदस्यले हस्ताक्षर गरेर जिल्ला कमिटीमा मोरङमा गएर दर्ता गराएका छन् । ‘जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोख्रेललाई भेटेर बुझाउने गरी गएका थियौँ’, पूर्व डाँगीहाट गाउँ कमिटीका उपाध्यक्ष सुजय गौतमले भने, ‘उहाँसँग भेट नभएपछि कार्यालय सचिव भोला पैडेललाई हाम्रा मागसहित उजुरी दिएर दर्ता गराएका छौँ । अध्यक्ष पोख्रेलले नै म कार्यालयमा आएर हेर्छु निवेदन दर्ता गराएर जानुहोस् भनेर फोनमा भन्नुभयो ।’ पहिलो चरणको आन्दोलनस्वरूप शुक्रबार जिल्ला कमिटीलाई जानकारी गराएको उनले बताए ।

अहिले गठन भएको नगर र वडा कमिटीमा पुनर्विचार गर्न माग गरेको गौतमले बताए । ती माग जिल्ला कमिटीले सम्बोधन नगरे पार्टी कार्यालयमा तालाबन्दीसहितका कार्यक्रम लिएर अगाडि बढ्ने उनले बताए ।

उनका अनुसार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी तथा जिल्ला अध्यक्ष पोख्रेलबीच सबैलाई समेटेर लैजाने सहमति भए पनि एकलौटी ढङ्गबाट कमिटीहरू गठन हुन थालेपछि विरोध शुरु हुन थालेको बताइएको छ । सङ्गठित सदस्य समेत नभएका व्यक्तिसमेत वडा कमिटीमा पर्न थालेपछि बेलबारीमा विवाद उग्र बन्दै जान थालेको हो ।

पहिले जिम्मेवारीमा बसेका नेता तथा कार्यकर्तासमेत कमिटीमा नअटाइएपछि पुराना नेता असन्तुष्ट बन्दै गइरहेका छन् । पूर्व नगर कमिटीका अध्यक्षसमेत रहेका कमल कोइरालाले भने, ‘पार्टी सङ्गठन बनाउनुभन्दा पनि गुटको राजनीति गर्न अहिलेको नेतृत्व असक्षम देखियो । यसको परिणाम पनि उहाँहरूले नै भोग्नुहुन्छ ।’

बेलबारीका नगर कमिटी अध्यक्षमा पूर्व माओवादीका पर्शुराम सुवेदी छन् भने सचिव पूर्व एमालेका रविन थापा रहेका छन् ।

‘पार्टी एकता हुँदा देशकै मुहार फेरिन्छ भन्ने धेरैले महसुस गरेका थिए’, पूर्व एमालेका जिल्ला सदस्य तथा मोरङ क्षेत्र नम्बर ३ का सह इञ्चार्जसमेत रहेका राजेश बस्नेतले भने, ‘अहिले सल्लाह सुझावबिना नै सङ्गठन बिस्तार हुन थालेकाले नेकपा कता जाँदैछ भनेर सहजै मूल्याङ्कन गर्न सकिन्छ ।’