इटहरीः तीजको अवसर पारी मोरङको सुन्दरहरैंचामा रहेको लालीगुराँस भजन कीर्तन समूहले विभिन्न कार्यक्रमको आयोजना गरी तीज मनाएको छ ।

सो क्रममा सो समूहले ज्येष्ठ नागरिक महेश्वरा अधिकारी तथा अपाङ्गताको क्षेत्रमा क्रियाशील पार्वता गुरागाईँलाई सम्मान गरेको हो । अधिकारीलाई १ वर्ष अघि सुन्दरहरैंचा नगरपालिकाले नगरमाता घोषणा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा सुन्दरहरैंचाको वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौलाले दोसल्ला ओढाएर तथा नगद प्रदान गरेर सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिटौलाले पछिल्लो समय तीजलाई मनाउने क्रममा विकृति बढ्दै गएको समयमा यसरी सिर्जनशील तरिकाले चाडपर्व मनाउनु ज्यादै राम्रो भएको बताए ।

कार्यक्रममा गायक साजन राईले विभिन्न गीत गाएर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । समूहका अध्यक्ष पोष्टकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष बिसनलाल चौधरी विशिष्ट अतिथि रहेका थिए । यशोदा दाहालले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा राजकुमार श्रेष्ठ, हीरा भट्टराई, सीताराम श्रेष्ठ, उमेश उप्रेती, रवीन्द्र आचार्य, मीना ओझा, विष्णुप्रसाद घिमिरेलगायत अतिथि रहेका थिए ।

तुलसा आचार्य र कैलाश पोखरेलले सञ्चालन गरेको सो कार्यक्रममा ममी डान्स प्रतियोगिता पनि भएको थियो । कार्यक्रममा गीत, गजल र नृत्य प्रस्तुत गरिएको थियो । पञ्चायत मावि गोठगाउँको प्राङ्गणमा भएको कार्यक्रममा ५ सय जना भन्दा बढी स्थानीयको सहभागिता थियो ।

laliguras samman  (1) laliguras samman  (2) laliguras samman  (3)