धरानः धरानमा सोमबार आयोजित एक कार्यक्रमका वक्ताहरूले संस्कृत भाषाको विकास र संरक्षणमा सरोकारवालाहरू एकजुट हुनुपर्ने विचार व्यक्त गरेका छन् ।
विश्वभर संस्कृत भाषाप्रति आकर्षण बद्दै गएको र वैज्ञानिकहरूले समेत संस्कृतमा सिङ्गो ब्रह्माण्डको विज्ञान रहेको भन्दै अध्ययन गरिरहेको बताउँदै उनीहरूले नेपालमा यो भाषालाई एउटा समुदायको मात्र भाषाका रूपमा अपव्याख्या गर्न थालिएको गुनासो गरे । विज्ञहरूले यसप्रति गम्भीर बन्नुपर्ने विचार व्यक्त गरे ।
पिण्डेश्वर विद्यापीठमा सोमबार शुरु भएको १० दिने संस्कृत भाषा शिविरमा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष पुरुषोत्तम भट्टराईले संस्कृत भाषामात्र नभएर विज्ञान पनि भएको बताए । हरेक भाषा सबैका साझा हुन्छन् भन्दै संस्कृत भाषालाई कुनै एउटा समुदायको मात्र भनेर व्याख्या गर्न खोजिनु दुःखद् भएको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्राडा भीम खतिवडाले विश्वव्यापी रूपमा संस्कृत भाषामाथि अनुसन्धान हुन थालेको भन्दै नेपालमा यसको विकास र संरक्षणमा ठोस कार्यहरू गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा संस्कृत भाषालाई बोलीचालीको भाषा बनाउनुपर्ने, संस्कृतमा रहेका योग, दर्शन, ज्योतिष, प्राकृतिक चिकित्सा, आयुर्वेद आदि विषयका ज्ञानलाई हरेक मानिससमक्ष पु¥याउनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रमको उद्घाटन समारोहमा प्राडा भरतमणि भट्टराई, डा.रमेश घिमिरे, डा.भवानीशङ्कर भट्टराई, सहप्राध्यापक सागरमणि सुवेदी, प्राध्यापक नारायणदत्त शर्मा पौडेललगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
भदौ २५ गतेसम्म सञ्चालन हुने शिविरमा भारतको उडिसा प्रान्तबाट आएका सरोजकुमार दास मुख्य प्रशिक्षक छन् । उनी भारतको लोकभाषा प्रचारक समितिका अभियन्ता पनि हुन् । पिण्डेश्वर विद्यापीठका प्राचार्य डा.चन्द्रमणि नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपप्राध्यापक दीपक पराजुलीले सञ्चालन गरेका थिए । भाषा शिविरमा धरान, इटहरी, विराटनगरसहित १ नम्बर प्रदेशका विभिन्न स्थानबाट सहभागीहरू आएका छन् ।