बेलबारीः बेलबारी–५ का सोखनारायण सरदार कुटो कोदालो बोकेर ५ दिनदेखि लगातार लोहोन्द्रा खोलामा धाए । धान खेती गर्ने गरेका उनी तरकारी खेती गर्नका लागि लोहोन्द्रामा बाँध बाध्ने उद्देश्यले खोलामा गएका हुन् ।
‘पाँच दिनसम्म खोलाको पानी पैनीमा लगियो’, उनी भन्छन्, ‘अब धान थन्क्याउनेबित्तिकै तरकारी खेती गर्छौँ ।’ उनीजस्तै डेढ सय भन्दा बढी युवा तथा अधबंैसेहरू कुटो, कोदालो, खुर्पा खुकुरी, गैँती, खन्तीलगायतका सामग्री लिएर खोलामा गएका थिए । खोलाको पानी लगेर तरकारी खेती गर्ने योजना उनले बनाएका छन् ।
‘खोलाको पानीजस्तो सिँचाइका लागि मोटरको पानी हुँदैन’, स्थानीय धर्मलाल थारुले भने, ‘केही दिन अघि आएको बाढीले पैनी बगाएपछि समस्या भएको थियो ।’ पहिले बेतना सिमसारबाट गएको पानीले पुगे पनि अहिले भने खेती गर्ने धेरै भएको उनले बताए । पैनी बनेसँगै बेलबारीका ४, ५ ६ र ७ नम्बरको करीब ३ हजार बिघा क्षेत्रफलमा सिँचाइ गर्न सहज हुने उनी बताउँछन् ।
नगरपालिकाको सहयोगमा खोलामा तटबन्ध गरेर सिँचाइका लागि पानी लगेको स्थानीय तुलाराम सरदारले बताए । ‘अब हाम्रा बारीमा समयमै हरिया सागपातदेखि नगदे बालीसम्म लगाउन सकिन्छ’, उनले भने ।
मोरङ सुनसरी सिँचाइ आयोजनामार्फत् सञ्चालनमा आएको नहर केही वर्ष यता बाढीले बगाएपछि सो क्षेत्रका किसानलाई सिँचाइमा समस्या हुँदै आएको थियो । नहर नबनेपछि किसानलाई नगरपालिकाले राहतस्वरूप बोरिङको व्यवस्था गरेको थियो । ५ दिनसम्म लगाएर किसानहरूले बाँसले घेरेर बोरामा बालुवा भरेर खोलाबाट पानी लगेका छन् ।
किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यका साथ सिँचाइका लागि सहयोग गरिदिएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले बताए । बेलबारीको दक्षिणी क्षेत्रमा रायो साग, धनियाँ, तिते करेला, फुलकोपी, तोरी तथा गहुँको खेती हुने गरेको छ ।