ताप्लेजुङः लिम्बू विद्यार्थी मञ्चको नवौँ राष्ट्रिय महाधिवेशन असोज १२, १३ र १४ गते ताप्लेजुङ सदरमुकाम फुङलिङमा हुने भएको छ । मञ्चले ताप्लेजुङमा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको मितिबारे जानकारी दिएको हो । महाधिवेशनमा १३ जिल्लाका ३ सय बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् ।

महाधिवेशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आदिवासी आन्दोलन, सङ्घीय शिक्षा प्रणालीमा मातृभाषा, धर्म संस्कृति, मुन्धुम सम्बन्धी अवधारणा तथा विश्लेषण गर्दै निष्कर्ष निकाल्ने साथै संस्थाको भावी कार्यदिशा, विधान परिमार्जन र नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

नवौँ महाधिवेशनको नारा ‘मातृभाषामा व्यावहारिक शिक्षा हाम्रो अभियान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवान’ भन्ने रहेको छ ।