विराटनगर: विराटनगरलाई आईटी शिक्षाको केन्द्र बनाउने उद्देश्यले हिमालय दर्शन कलेज विराटनगरले आईटी कम्पनी सञ्चालन गर्ने भएको छ ।
आईटी कलेजको पूर्णता र गुणस्तर वृद्धिका लागि ललितपुरको पाटनढोकास्थित एम पर्सेप्ट टेक्नोलोजी कम्पनीसँगको सहकार्यमा हिमालयले चालु आर्थिक वर्षमा व्यवस्थित आईटी कम्पनी सञ्चालनमा ल्याउन लागिएको जनाएको छ । कलेजले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै पर्यटन प्रबद्र्धनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने प्रयासस्वरूप आईटी कम्पनी सञ्चालनमा ल्याउन लागिएको जनाएको छ ।
आईटी कम्पनी सञ्चालन गर्न एम पर्सेप्ट टेक्नोलोजीका निर्देशक सञ्जीव उदास र हिमालयका अध्यक्ष गुणराज ढुङ्गेलले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा बीसीएतर्फ कलेज टप गर्ने भविश भट्टराईसहित ४ जना विद्यार्थी सम्मानित भएका छन् ।
विज्ञप्तीमा यसै वर्षदेखि कलेजले स्नातक तहमा होटल म्यानेजमेन्ट पनि सञ्चालन गर्न लागेको उल्लेख गरिएको छ । होटल म्यानेजमेन्टका लागि काठमाडौंका पाँचतारे होटल र विराटनगरका ठूला होटलसँग सम्झौता भइसकेको जनाइएको छ ।
हिमालय बीआइएमको प्रथम सेमेष्टरमा देशभरकै निजी कलेजमध्ये नम्बर १ बन्न सफल भएको छ । शङ्करदेव क्याम्पसपछि राम्रो नतिजा ल्याएर देशभरमा दोस्रो नम्बरमा आएको बताइएको छ । व्यक्तिगत नतिजामा बोर्डको टप टेनभित्र निकिता खनाल पाँचौँ र कैलाश यादवले छैटौंँ स्थान प्राप्त गरेको विज्ञप्तीमा जनाइएको छ ।