धरानः चाडबाड नजिकिँदै गर्दा धरान उपमहानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।
म्याद गुज्रिएका खाद्यवस्तुको अनुगमन गर्दै अनुगमन टोलीले मिति नाघेका खाद्यसामग्री जफत गरी नष्ट गरेको छ । गत हप्तादेखि दैनिक रूपमा धरानमा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । बजार क्षेत्रका किराना, होटल तथा खाजाघरबाट म्याद गुज्रिएका सामग्री जफत गरी नष्ट गरेको टोलीले जनाएको छ ।
नगर प्रहरीको टोलीसहित धरान उपमहानगरपालिकाको बजार अनुगमन समितिले अधिकांश होटल, खाजाघर तथा किराना पसलमा फेन्टा, डिउ, कोक, चाउचाउ, बिस्कुट, आलु चिप्स, कुरकुरे लगायतका सामग्री म्याद गुज्रिएको भेटेकाले नष्ट गरेको जनाएको छ ।
खाद्य सामग्रीमा ६ महिना भन्दा बढी म्याद गुज्रिएको र बिस्कुटहरूमा उत्पादन मिति र म्याद गुज्रिने मिति नै उल्लेख नभएपछि जफत गरी नष्ट गरिएको अनुगमन समितिका सदस्य तथा नगर प्रहरी प्रमुख विष्णुप्रसाद कोइरालाले बताए । उनले भने, ‘उपभोक्तामाथि गम्भीर खेलवाड गरेको भन्दै जफत गरेर व्यवसायीकै अगाडि नष्ट गरिएको छ ।’
केही होटल तथा खाजाघरहरूलाई चेतावनी दिएर छाडिएको छ । अनुगमन टोलीले धरान–१८ का १७ ओटा होटल, लज, किराना पसल र औषधी पसल अनुगमन गरेको थियो । औषधी पसलमा भने म्याद गुज्रिएको केही पनि फेला नपरेको जनाइएको छ ।
धरान उपमहानगर अनुगमन समितिका तर्फबाट स्वास्थ्य संयोजक घनश्याम सिग्देलको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीका खाद्य निरीक्षक सिर्जन जोशीलगायत इलाका प्रशासन कार्यालयका प्रतिनिधि, केन्द्रीय प्रविधि क्याम्पस, उपभोक्ता हित संरक्षण मञ्च, उद्योग वाणिज्य सङ्घ, इलाका प्रहरी कार्यालय धरानका प्रतिनिधि अनुगमन टोलीमा खटिएका छन् ।