इटहरीः १ नम्बर प्रदेशका नागरिक आर्सेनिक र इकोली ब्याक्टेरियायुक्त पानी पिउन बाध्य छन् । पानी परीक्षण प्रयोगशाला इटहरीले गत आर्थिक वर्षमा एक हजार ३० ओटा नमुनाको ल्याब टेस्ट गर्दा पहाडी जिल्लाको पानीमा इकोली पाइएको छ । तराईका जिल्लाका ट्युबवेलको पानीमा भने आर्सेनिक पाइएको छ ।

मानिस वा जनावरको दिसाको मात्रा मिसिएको पानीमा इकोली ब्याक्टेरिया हुने र त्यस्तो पानी प्रयोग गर्दा हैजा, झाडापखाला, आउँजस्ता रोग लाग्ने तथा आर्सेनिक भएको पानी लामो समयसम्म पिउँदा क्यान्सर हुने खतरा हुन्छ । आर्सेनिक भएको पानी लामो समयसम्म पिउँदा पनि क्यान्सर हुने पानी परीक्षण प्रयोगशाला इटहरीका प्रमुख अधिकृत रमेशकुमार यादवले जानकारी दिए ।

इकोली भएको पानी पिउँदा शुद्धीकरण वा ब्लिचिङ पाउडर प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।

तर सर्वसाधारणले त्यसो गरेको पाइँदैन । पानी प्रयोगशालाले बर्सेनी ल्याब रिपोर्ट सार्वजनिक गरे पनि नियन्त्रणतर्फ प्रभावकारी कदम चालेको पाइँदैन ।

तराईको पानीमा आइरनको समस्या पनि देखिएको छ । आइरनको मात्रा तीन मिलिग्राम प्रतिलिटर हुनुपर्ने भए पनि २२ मिलिग्राम प्रतिलिटर सम्म भेटिएको छ । यस्तै प्रदेश १ का विभिन्न खानेपानी उपभोक्ता संस्था, पानी बिक्री गर्ने उद्योग र व्यक्तिगत रूपमा परीक्षण गर्न विभिन्न स्थानबाट ल्याइएका ८ सय ७० नमूनामध्ये सात प्रतिशतमा इकोली पाइएको यादवले बताए ।