धरानः धरान–३ मा रहेको सगरमाथा एसडी कलेजको आयोजना र साकेला टेक्निकल एकेडेमीको सहकार्यमा एक हप्ते मन्टेश्वरी तालिम बुधबार सम्पन्न भएको छ ।

कलेजमा शिक्षा सङ्कायमा कक्षा ११ र १२ मा अध्ययनरत २२ जना छात्रछात्रालाई तालिम दिइएको हो । तालीम अवधिभर राइम्स, व्यावहारिक जीवन अभ्यास, कक्षा कोठा व्यवस्थापन लगायतका विषय सिकाइएको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत एवम् सहजकर्ता शालिक सतासक राईले जानकारी दिए ।

सगरमाथा कलेजले नियमित पठनपाठनको अतिरिक्त विद्यार्थीलाई आत्मनिर्भर बनाउन अन्य जीवनउपयोगी शिक्षा दिने गरेको कलेजका प्रिन्सिपल सन्तोष राईले बताए । तालीममा सहभागी नमिता राईले साना बच्चालाई डर त्रास नदेखाई माया गरेर कसरी पढाउने, कक्षा कोठा डेकोरेसन कसरी गर्ने भन्ने बारेमा महत्वपूर्ण कुरा सिकेको बताइन् ।

छात्राद्वय सुनिता घिसिङ र दीक्षा श्रेष्ठले पनि तालीमको अनुभव सुनाएका थिए । तालीमका सहभागीलाई प्रिन्सिपल सन्तोष राई, भाइस प्रिन्सिपल देवराज रेग्मी, कलेजका कोअर्डिनेटर विशाल राई, सञ्चारकर्मी योगेशबाबु काफ्ले लगायतले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक सबिता खतिवडाले गरेकी थिइन् ।