काँकरभिट्टाः खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले मेचीनगर नगरपालिकाको समन्वयमा बिहीबार नगरको प्रमुख व्यापारिक केन्द्र चारआली, धुलाबारी र इँटाभट्टालगायतको बजार अनुगमन गरेको छ । टोलीले दर्जनौँ किराना तथा पेयपदार्थका पसलमा अनुगमन गरेको थियो ।

अनुगमनमा दैनिक उपभोग्य वस्तुको उपभोग्य मिति, उत्पादकको विवरण लगायत अनिवार्य रूपमा लेबलमा हुनुपर्ने विवरण, मूल्य सूची आदि भएनभएको अनुगमन गरेको थियो । त्यस्तै, खाद्यान्नसँग साबुन, सेम्पुजस्ता रसायन प्रयोग हुने गरेका अन्य वस्तु एकै ठाउँ भए÷नभएको हेर्नुका साथै म्याद गुज्रिएका, खान अयोग्य खाद्यवस्तु, पेय पदार्थ जफत गरी नष्ट गरेको थियो । अखाद्य वस्तु विक्रेतालाई आइन्दा गल्ती नगर्न सचेत गराइएको थियो ।

अखाद्य रङ प्रयोग गरिएका सिन्के चाउचाउ, उत्पादन मिति, उपभोग्य मिति नखुलेका पानीपुरीका मसला, म्याद गुज्रिएका बियर, धुलो खुर्सानी, बिस्कुट नष्ट गरिएको थियो । अनुगमनका क्रममा व्यवसायीले मूल्यसूची नराखेको, धेरैले मुल्य सूचीमा मूल्य नै उल्लेख नगरेको, म्याद गुज्रिएका खाद्य वस्तु राखेको पाइएको टोलीले जनाएको छ । पहिलो पटक भएका कारण व्यवसायीलाई सजग गराइएको नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले बताए । नेपाल सरकारले मानव स्वास्थ्यका लागि हानिकारक भएको ठहर गर्दै बिक्रीमा प्रतिबन्ध लगाएका खाद्यवस्तु समेत नगरमा निर्वाध रूपमा बिक्री हुने गरेका छन् ।

नेपाली बजारमा सरकारले प्रतिबन्ध लगाएका पेय पदार्थ, खाने तेल, खुला नुन, विभिन्न प्रकारका अचार खुला रूपमा बिक्री हुने गरेको टोलीले फेला पारेको थियो । नेपालमा प्रतिबन्धित ड्रइगन, दो फुल लगायत नामै नसुनेका भारतीय आयल कम्पनीद्वारा उत्पादित तेल, उत्पादन तथा उपभोग्य मिति नभएका खाद्यवस्तु, आयोडिनविहीन नुन लगायतका सामान सीमा क्षेत्रमा खुला रूपमा बिक्री हुने गरेका छन् ।

भारतीय बजारबाट ल्याएर फेण्टा, कोकाकोला, स्प्राइट, माजालगायतका पेयपदार्थ समेत बिक्री गर्ने गरेको स्थानीयको भनाइ छ । टोलीले विक्रेतालाई सजग गराउँदै सम्पूर्ण खाद्यवस्तु फिर्ता गर्न सुझाव दिएको छ भने केही सामान जफत गरेको छ ।

अनुगमन टोलीमा मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्की, मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेती, जिल्ला प्रशासन कार्यालय, झापाका खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरी, मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिना, उपभोक्ता मञ्च नेपालका सन्तोष नेउपाने, इलाका प्रहरी कार्यालय धुलाबारी चारआलीका प्रहरी प्रमुख, नगर प्रहरी तथा अन्य प्रहरी सहभागी थिए ।

jhapa anugaman  (2)