फाइल तस्बिर
काँकरभिट्टाः झापामा डाक्टर प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा राष्ट्रवादी र पशुपति शमशेर जबराले नेतृत्वको राप्रपा प्रजातान्त्रिक एकीकरणपछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच टकराव शुरु भएको छ ।
जिल्लामा पार्टीको समानान्तर समिति बनेपछि दुई पक्षबीचको विवाद बाहिर आएको हो । यही विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त जिल्ला कार्यसमिति झापाले पूर्वमन्त्रीसहित आधा दर्जन नेता कार्याकर्तालाई कारवाहीका लागि सिफारिश गरेको छ ।
झापामा समानान्तर समिति गठन गरेको भन्दै पूर्व श्रम राज्यमन्त्री टेकनारायण राजवंशी, शाही शासनकालका क्षेत्रीय प्रशासक प्रजापति कोइराला, चेतनाथ थापा, विजय दाहाललाई अनुशासनको कारवाहीको लागि केन्द्रमा सिफारिश गरिएको शो । डाक्टर प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा राष्ट्रवादी र पशुपति शमशेर जबराले नेतृत्वको राप्रपा प्रजातान्त्रिक एकीकरणपछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले साउन २१ गते सम्पन्न गरेको एकीकरण घोषणा सभामा झापामा ओमप्रकाश मिश्रको अध्यक्षतामा जिल्ला कार्य समिति गठन भएको थियो । त्यस लगत्तै असन्तुष्ट पक्षले भदौ १४ मा लक्ष्मीप्रसाद ओडारीको अध्यक्षतामा अर्कै समानान्तर समिति गठन गरेपछि दुई समूहबीच विवाद चुलिएको थियो ।
समानान्तर समितिको अध्यक्षमा लक्ष्मीप्रसाद ओडारी चयन भए पनि समिति बनाउन माथि उल्लेखित व्यक्तिहरुको भूमिका उल्लेख्य भएका कारण कारवाहीको माग गरिएको पार्टीले जनाएको छ । मिश्र पक्षधरले ओडारी पक्षलाई विष्णु भट्टराईलाई केन्द्रीय उपाध्यक्ष भन्दै गलत प्रचार गरी भ्रम सिर्जना गरेको आरोप समेत लगाएको छ ।
राष्ट्रवादी र प्रजातान्त्रिक एकीकरण समायोजन प्रक्रिया पूरा भएर जिल्ला, नगर, वडा तहमा भइरहेको समायोजनका क्रममा केन्द्रीय संयोजन समितिले मेची अञ्चलका लागि तोकेको केन्द्रीय पदाधिकारी र सदस्यको समायोजन समितिले केन्द्रको विधि र निर्देशन प्रक्रियालाई लिएर साउन २१ मा झापामा घोषणा सभा गरेर पार्टीको झापा जिल्ला कार्य समिति गठन गरेको थियो ।
भेलाले तत्कालीन प्रजातान्त्रिकका लक्ष्मीप्रसाद ओडारीलाई झापाको निर्देशन समितिको संयोजकमा चयन गरेको केन्द्रलाई पठाएको पत्रमा उल्लेख छ । तर, मिश्र नेतृत्वको जिल्ला समितिले झापालाई पूर्णता प्रदान गरी सङ्गठन विस्तार गर्दै क्षेत्र, नगर, वडामा समायोजन कार्य गरिरहेको बेला साउन २४ गते लक्ष्मीप्रसाद ओडारीको नेतृत्वमा समानान्तर समिति गठन भएको उल्लेख छ ।
जिल्लामा केन्द्रको निर्देशन पालना नगरी समानान्तर समिति बनाएका कारण अनुशासनको कारवाहीको माग गरिएको मिश्र पक्षका जिल्ला सचिव निरबहादुर कार्की नेत्रले जानकारी दिए । पार्टीका सङ्गठन विभाग प्रमुख ध्रुवबहादुर प्रधानलाई सम्बोधन गरेर केन्द्रीय कार्यालयका लागि लेखेको पत्रको बोधार्थ पार्टीका १ नम्बर प्रदेश संयोजक सुनिलबहादुर थापालाई दिँदै राजवंशी, कोइराला, थापा र दाहाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाहीको लागि सिफारिश गरिएको छ ।