इटहरीः इलामको रोङ गाउँपालिका–१ हिलेपाखास्थित भित्री सडक खण्डमा भएको ट्रक दुर्घटनामा १ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ पौने ७ बजे सो दुर्घटना भएको हो ।

बाँस बोकेको मे १ ख २२५६ नम्बरको ट्रक सडकबाट अन्दाजी १ सय मिटर तल खसेर दुर्घटना हुँदा सोही ट्रकमा सवार झापाको बुद्धशान्ति– ५ बस्ने अन्दाजी २५ वर्षीय रबिन नेपालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सोही ट्रकमा सवार बुद्धशान्तिकै २२ वर्षीय नरेश खड्का र २५ वर्षीय रमेश चौहान गम्भीर घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । ट्रक चालक सम्पर्कविहीन रहेको र उनको खोजी भइरहेको ट्राफिक प्रहरी पोष्ट तीनघरेले जनाएको छ ।