फाइल तस्बिर

बिर्तामोडः नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले दुई तिहाई बहुमतसहितको कम्युनिष्ट नेतृत्वको सरकार ऐन, नियम, विधि र कानुन मिच्न उद्यत रहेको आरोप लगाएका छन् । नेपाल चिया बगान श्रमिक सङ्घको प्रथम जिल्ला परिषद भेलामा बोल्दै सिटौलाले मौलिक हकमा व्यवस्था भएको जनअधिकार कार्यान्वयन गर्न सरकार असफल भएको बताए ।

बहुमतको दम्भमा सरकार अन्धो भएको टिप्पणी गर्दै नेता सिटौलाले सरकारको एकदलीय तानाशाही सोच बदल्न मजदुरले पुनः एकीकृत भएर आन्दोलन गर्नुको विकल्प नभएको धारणा राखे । ‘विगतमा पनि मजदुरको एकता र आन्दोलनकै कारण लोकतान्त्रिक शासन व्यवस्था आएको थियो, लोकतन्त्र प्राप्तिपछि बनेको संविधानले मजदुरका अधिकार सुनिश्चित गरेको छ’, नेता सिटौलाले भने, ‘तर सरकार कानुनले सुनिश्चित गरेका मजदुरका हक अधिकार कार्यान्वयन गरिरहेको छैन, अब अधिकार प्राप्तिका लागि ट्रेड युनियनले विशेष पहल थाल्नैपर्छ ।’

संविधानले मजदुरको शिक्षा, स्वास्थ्य, आवास, रोजगार, भोजन लगायतका आधारभूत आवश्यकता पूरा गर्ने सुनिश्चितता गरेकाले संविधानमा सुनिश्चित अधिकार प्राप्तिका लागि अब ट्रेड युनियनले विशेष पहल थाल्नुपर्ने सिटौलाको भनाइ छ । संविधान जनताका लागि नभएर सत्तामा बस्नेका लागि मात्रै भइरहेको टिप्पणी गरेका सिटौलाले ४४ दिनसम्म चिया मजदुरले आन्दोलन गर्दा पनि कुनै मन्त्रीले मजदुरका हकहितमा नबोलेको आरोप लगाए ।

उनले चिया बगानका प्रत्येक एकाईमा श्रमिक संस्था गठन गरेर स्थानीय, प्रदेश र केन्द्रीय सरकारका गतिविधिबारे छलफल र चेतना अभिवृद्धि गर्ने कार्यक्रम अघि बढाउनसमेत मजदुर नेतालाई आग्रह गरे । मजदुरको सूचीकरण र श्रम ऐनमा तोकिएको ज्याला कार्यान्वयन नभए आन्दोलनमा जानुको विकल्प नभएको धारणा उनले राखे ।

नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव जीवन खड्काले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै श्रम ऐनअनुसार न्यूनतम ज्याला कार्यान्वयन नभएका चिया बगानमा ज्याला कार्यान्वयन गर्न, महङ्गी, भ्रष्टाचार, कालोबजारी रोकेर रोजगारीको सिर्जना गर्न तथा श्रमिकलाई पान नम्ब। लिनैपर्ने बाध्यकारी नियम कार्यान्वयन नगर्न सरकारसँग माग गरे ।