विराटनगरः विराटनगर प्याब्सनले आयोजना गरेको प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि कोशी विद्या मन्दिर र एभरेष्ट स्कुलले हात पारेका छन् ।
विराटनगरमा शनिबार भएको सिनियरतर्फको प्रतियोगितामा १० ओटा स्कुललाई पछि पार्दै कोशी विद्या मन्दिरले उपाधि जितेको हो । जुनियरतर्फ पनि १० स्कुललाई पछि पार्दै एभरेष्ट स्कुलले उपाधि जितेको हो ।
सिनियरतर्फ सगरमाथा सेकेण्डरी स्कूल दोस्रो, ग्रेडेड सेकेण्डरी स्कुल तेस्रो तथा गोदावरी सेकेण्डरी स्कुल र विकेभीए स्कुलले सान्त्वना स्थान हात पारे । जुनियतर्फ सुम्निमा स्कुल दोस्रो, अरनिको आवासीय माध्यमिक स्कुल तस्रो तथा मोर्डन एरा सेकेण्डरी स्कुलले सान्त्वना पुरस्कार हात पारे ।
पुरस्कृत सबै विद्यालयले भदौ २८ गते विराटनगरमा हुने जिल्लास्तरीय प्याब्सन लोक नृत्य प्रतियोगितामा सहभागी हुन पाउने विराटनगर प्याब्सनका सचिव अर्जुन श्रेष्ठले जानकारी दिए ।
विद्यालयहरूमा अध्ययरत विद्यार्थीको अन्तरनिहित कलाकारिताको दक्षतालाई अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जुनियरतर्फ कक्षा ८ र सिनियरतर्फ कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरूले भाग लिएका थिए । प्रतियोगिताको निर्णायकमा प्रेम सुनार र राजु गिरी रहेका थिए ।
विजयी विद्यालयलाई प्याब्सन केन्द्रीय सचिव राजेशकुमार दास, प्याब्सन मोरङका सह–सचिवद्वय विष्णु डंगोल र नन्दलाल मण्डल, प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राई, कोषाध्यक्ष शिव अधिकारी र सदस्य अशोक लामालगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।