बिर्तामोडः शिक्षित युवाको विदेश मोह बढ्दै गएपछि कन्सल्टेन्सीको व्यापार पनि मौलाएको छ । यसैलाई मध्यनजर गर्दै विद्यार्थी आकर्षित गर्न शैक्षिक मेलाको आयोजना गर्ने क्रम पनि बढ्दै गएको छ ।

यसै क्रममा नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) पूर्वाञ्चलले दोस्रो शैक्षिक महोत्सवको आयोजना गर्ने भएको छ । इक्यानले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी विराटनगर र बिर्तामोडमा महोत्सव आयोजना गर्ने जानकारी दिएको हो ।

इक्यानले भदौ ३० र ३१ गते विराटनगरको सेन्ट्रल मलमा र असोज १ र २ गते बिर्तामोडको सिटी पार्टी प्यालेसमा महोत्सव आयोजना गर्ने महोत्सवका संयोजक मदन बुढाथोकीले बताएका छन् । विराटनगरबाट उद्घाटन भएको महोत्सव बिर्तामोडमा समापन हुने संयोजक बुढाथोकीले बताए । उनले विराटनगर र बिर्तामोडमा हुने महोत्सवमा ३५÷३५ स्टल रहने जानकारी दिए ।

शैक्षिक महोत्सवमा विभिन्न देशका विश्वविद्यालय, कलेज तथा नेपालका कन्सल्टेन्सीको सहभागिता रहने महोत्सवका सहसंयोजक अशोक भण्डारीले बताए । महोत्सवमा विद्यार्थीले आफ्नो योग्यता अनुसारको शैक्षिक संस्था छनोट गर्ने अवसर भएको उनले बताए ।

महोत्सवमा २० हजार विद्यार्थीले सहभागिता जनाउने आयोजक संस्थाले अपेक्षा गरेको छ । विद्यार्थीले चाहेको विश्वविद्यालयमा मेला स्थलमै भर्ना हुन सकिने व्यवस्था गरिएको महोत्सवका सदस्य लक्ष्मीकान्त खनालले बताए । महोत्सवको अनुमानित खर्च २१ लाख रुपैयाँ रहने महोत्सव समितिका सदस्य दीपक गौतमले बताए ।