धरानः धरान मेघा कलेजले विद्यार्थीहरूको ओरेन्टेसन तथा क्यारियर काउन्सिलिङ कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

कलेजको बीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई विषयगत महत्व र करियर निर्माणका विषयमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको धरान मेघा कलेजका अध्यक्ष कैलाश सुब्बा आङ्देम्बेले जानकारी दिए ।

मेघा कलेजले विद्यार्थीहरूलाई पाठ्यक्रमबाहेक अन्य विषयमा पनि समान रूपमा शिक्षित गर्दै जाने अध्यक्ष आङ्देम्बेको भनाइ थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राध्यापक डाक्टर अशोककुमार झाले बीबीएस पढ्ने विद्यार्थीको भविष्य उज्ज्वल हुने र त्यसमा आफूलाई कति उत्कृष्ट बनाउने भन्ने जिम्मा विद्यार्थीमा नै भर पर्ने बताए । पढाइको सिलसिलामा हुने अन्तरक्रिया र अन्य क्रियाकलापले विद्यार्थीलाई उत्कृष्ट बनाउने भन्दै उनले धरान मेघा कलेजले विद्यार्थीका लागि अतिरिक्त कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

कार्यक्रममा मन्तव्य राख्दै एम्स कलेज धरानका अध्यक्ष प्रकाश राईले विद्यार्थीले आज गरेको मिहिनेतले नै भोलि उनीहरूको र देशको भविष्य निर्धारण हुने बताए । मेघा कलेजले अहिले प्राप्त गरिरहेको नतिजाले मेघाको शैक्षिक गुणस्तरलाई विश्वास गर्ने आधार भएको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक तथा जनगायक किशोर थुलुङले अध्ययनले नै मानिसलाई परिपक्व बनाउने भन्दै अध्यनका क्रममा आउने अवरोध र समस्यालाई समाधान गर्दै एकेडेमिक लेभल पूरा गर्नुपर्ने बताए । अध्ययनका लागि पहिलेको जस्तो अप्ठ्यारो परिस्थिति अहिले नभएको भन्दै पढ्न र सिक्न चाहने विद्यार्थीका लागि असीमित अवसर भएको पनि उनले बताए ।

कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंकका शाखा प्रमुख प्रबल श्रेष्ठले बीबीएस पढ्ने विद्यार्थीको भविष्यमा सम्भावनाहरू प्रशस्त हुने बताए । अध्ययनमा मिहिनेत र अठोट हँुदा बीबीएसका विद्यार्थी बेरोजगार बस्न नपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले अब कलेजका विद्यार्थीले समाज र राष्ट्रका लागि सकारात्मक सोच विकास गर्नु आवश्यक भएको बताए ।

धरानमा लागूऔषधको समस्यालाई नियन्त्रण गर्न अब कलेजस्तरबाट अभियान थाल्नुपर्ने उनले बताए । कार्यक्रममा मेघा कलेजका शिक्षक कर्मचारी, शेयर होल्डर तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।

megha  (1)