उर्लाबारीः मोरङको मिक्लाजुङ गाउँपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं. ३ मा अन्तरक्रिया गरी स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको जनाइएको हो ।

मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद लिम्बू (कुशल) ले आफ्नो स्वास्थ्य बीमा गर्दै कार्यक्रमको शुभारम्भ गरेका हुन् । सोही वडावासी सांसद लिम्बूले सरकारको लोकप्रिय कार्यक्रम स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । गरीब तथा विपन्न समुदायलाई यस्ता कार्यक्रम वरदान साबित हुने उनको भनाइ छ ।

कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, उपाध्यक्ष सरला राई, प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीलगायतले बोल्दै स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिका लागिपर्ने बताएका छन् । वडाध्यक्ष खगेन्द्र माखिमले पनि वडामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।