धरानः नेवार एकता समाज धरानको नगर अधिवेशनका क्रममा आएको अभिव्यक्ति विवादित बन्न पुगेको छ । निवर्तमान अध्यक्ष विशाल श्रेष्ठले दिएको अभिव्यक्तिले अधिवेशन विवादित बन्न पुगेको हो ।

समाजको अधिवेशनको अवसरमा निवर्तमान अध्यक्ष विशाल श्रेष्ठले दिएको मन्तव्यप्रति ध्यानाकर्षण गराउँदै नेपाल लोकतान्त्रिक नेवा सङ्घ र एकीकृत नेवा राष्ट्रिय मुक्ति मोर्चाले विज्ञप्ती जारी गरेको छ । मङ्गलबार प्रेस विज्ञप्ती जारी गर्दै सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा अध्यक्ष गिरिधारी सापकोटालाई सघाएको आरोपमा अशोक ताम्राकारलाई सामाजिक बहिष्कार गर्ने अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ ।

विज्ञप्तीमा काङ्ग्रेसनिकट नेवार समुदायका केही व्यक्तिले समाजलाई नितान्त काङ्ग्रेसको जातीय भातृ सङ्गठन बनाउन खोजेको हुँदा उक्त कार्यको घोर भत्र्सना गर्दछौं भनिएको छ ।

समाजको नगर अध्यक्ष विशाल श्रेष्ठ भएका बेला सङ्घको निर्वाचनमा तत्कालीन अध्यक्ष राजेन्द्र साहलाई सघाएको प्रति प्रश्न उठाइएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘निर्वाचनमा व्यक्ति विशेषलाई समर्थन वा विरोध गर्नु समाजको उद्देश्य हो ? नेवार समुदायका व्यक्तिको निजी आस्था र अधिकारमाथि बन्देज लगाउन मिल्छ ?’

साहलाई समर्थन गर्ने श्रेष्ठलाई पनि बहिष्कार गर्ने कि भन्ने प्रश्न उठाएको छ । समाजको उद्देश्य गैर नेवार जाति र समुदायको विरोध गर्नु नरहेको उल्लेख छ । विज्ञप्तीमा नेवार समुदायलाई विभाजित हुने गरी अशोक ताम्राकारप्रति गरिएको गालीप्रति निन्दा र भत्र्सना गर्दै सार्वजनिक रूपमा आफ्नो भनाइ फिर्ता लिन अनुरोध गरिएको छ ।