काँकरभिट्टाः समुदाय स्तरमा विपद्प्रति कार्य सम्बन्धी सचेतना अभिवृद्घि गर्ने उद्देश्यले दुई दिने सामुदायिक विपद् सचेतनामूलक कार्यक्रम शुक्रबारदेखि झापाको मेचीनगरमा शुरु भएको छ ।

नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआली ब्यारेकको प्राविधिक सहयोगमा मेचीनगर नगरपालिकाले आफ्नै सभाकक्षमा कार्यक्रम शुरु गरेको हो । नगर प्रमुख तथा विपद् व्यवस्थापन समितिका संयोजक विमल आचार्यले उद्घाटन गरेको कार्यक्रममा नेपाल सेनाको सहसेनानी सुरज कट्वालले विपद् व्यवस्थापनका बारेमा सहजिकरण गरेका छन् । उनले सहभागीलाई विद्यमान राष्ट्रिय विपद् व्यवस्थापनको संरचना तथा संयन्त्रका बारेमा जानकारी गराउँदै गृह मन्त्रालयको निगरानीमा केन्द्रदेखि क्षेत्र र जिल्ला तहसम्म दैवी प्रकोप उद्घार समितिको संरचना रहेको सहभागीहरुलाई जानकारी दिएका थिए ।

उनले रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाका प्रधान सेनापति अध्यक्ष तथा रथी, उपरथी, पृतनापति, बाहिनीपति, तथा गणकोे गुल्मपति सदस्य रहने प्रावधान रहेको बताए । उनले विपद् उद्घार कार्यमा सैनिक सहयोगको कार्यक्षमता तथा घटनास्थलमा स्थापना गरिने प्वाइन्ट तथा विपद् उद्घार कार्यमा नेपाली सेनाको भूमिकाका बारेमा समेत चर्चा गरे । नेपालमा हुन सक्ने विपद्मा भूकम्प, बाढी, पहिरो, हिमपात, खडेरी, महमारी, डढेलो, आगलागी, चट्या तथा हिमपहिरोका बारेमा समेत सहभागीलाई जानकारी गराए । विपद्को वर्गीकरण तथा उद्देश्यका बारेमा प्रकाश पार्दै विपद्मा प्राथमिक उपचारको व्यवस्थाका बारेमा जानकारी गराए ।

खाद्यान्न भण्डारण, शुद्ध पानीको स्रोत संरक्षण, औषधी र स्वास्थ्य केन्द्रको व्यवस्था, उद्घार तथा राहत सामग्रीको बन्दोवस्ती, आपतकालीन योजना निर्माणपूर्व चेतावनी प्रणालीको व्यवस्था तथा स्थान खाली गर्ने योजना वनाउनु बाढी आउनुपूर्व गरिने कार्य रहेको जानकारी दिए । कार्यक्रममा रेडक्रस वन, अग्नि नियन्त्रकलगायत विभिन्न सामाजिक सङ्घ संस्थामा आवद्घ व्यक्तिको सहभागिता रहेको छ ।

bipad  (1)