इटहरीः देशमा बलात्कारका घटनाहरूको ग्राफ बढ्दो क्रममा छ । यस वर्षमात्रै १ हजार ४ सयभन्दा बढी बलात्कारका मुद्दाहरू प्रहरीकोमा देशभर रेकर्ड भएको विभिन्न मिडियामा सार्वजनिक भएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या र अन्य थुप्रै बलात्कार अनि हत्याका खबरले देश स्तब्ध छ । बलात्कार विरोधीमा आक्रोश बढेको छ ।

त्यो स्तरमा पुगिसक्यो कि मृत्युदण्डसम्बन्धी कानुन नभएको मुलुकमा बलात्कारीलाई फाँसीको सजाय दिनुपर्छ भन्ने आवाजहरू बुलन्द हुँदैछन् । यस्तो परिप्रेक्ष्यमा प्रदेश पोर्टल डेस्कले नेपाली काङ्ग्रेसकी प्रखर युवा नेतृ लक्ष्मी खतिवडालाई बलात्कार राेक्ने विषयमा सोधेको छ । खतिवडा महिला सशक्तिकरणको पक्ष र महिला विरुद्धका हिंसाको विपक्षमा प्रभावशाली ढङ्गले विरोध गर्छिन् । बलात्कार राेक्ने सम्बन्धमा खतिवडाका सात सुझावहरू यसप्रकार छन्ः

१. आफ्ना हुर्कदै गरेका सन्तानसँग खुलेर यौनका विषयमा गफ गर्नेः

हाम्रो समाजमा यौनको कुरा वर्जितजस्तै छ । आमाबाबुले आफ्ना हुर्कदै गरेका स–साना छोराछोरीहरूसँग यौनका विषयमा खुलेर कुरा गर्नुपर्छ । यस्तो कुराले उनीहरूमा आफूमा कसले कस्तो दृष्टिकोण राखेको छ त्यो अनुमान गर्न सजिलो हुन्छ ।

२. यौनलाइ वर्जित र भयङ्कर विषय नबनाउनेः

यौन वर्जित र भयङ्कर विषय बनेकाले पनि बलात्कार बढ्नमा सहयोग पुगेको हुन सक्छ । त्यो कुराको ख्याल गर्दै यौनलाई सामान्य र अत्यधिक चर्चाको विषय बनाउनु हुन्न । यसो गरेमा बलात्कारी बन्ने स्तरमा कोही व्यक्ति नपुग्ला ।

३ं. स्वाभाविक र अस्वाभाविक व्यवहार बारेमा बुझ्ने र बुझाउनेः

कसैको कस्तो व्यवहार स्वाभाविक हुन्छ र कस्तो व्यवहार अस्वाभाविक हुन्छ भन्ने बुझ्नु र बुझाउनु पर्छ । उमेर पुगेकाले बुझ्ने र उमेर नपुगेकालाई बुझाउने गर्नुपर्छ । यस्तो हुँदा मात्रै कसैले बलात्कार गर्नु अगाडि नै मनोविज्ञान पढ्न सक्छन् सम्भावित पीडितहरूले । यसले बलात्कार रोक्न र न्यूनीकरण गर्न सघाउँछ ।

४. निश्चित क्षेत्रमा रेडलाइट एरियाको व्यवस्था गर्नेः

आज मानव अधिकारको क्षेत्रमा हरेक अधिकारको प्रत्याभूति भएको अवस्थामा हामीले यौनलाई कानुनी रूपमा दबाउनु हुन्न । विश्वभर चलेजस्तै रेड लाइट एरियाहरू खोल्न सकिन्छ । रेड लाइट एरियामा उमेर नपुगेका किशोरीहरू, जबरजस्त परिबन्धमा परेकाहरू भने पर्नु हुँदैन । इच्छा हुनेले मात्रै रेड लाइट एरियामा सहभागी हुने वातावरण भने बन्नुपर्छ ।

५. प्रहरी कार्यालयमा हुने महिला र बालबालिका सेललाई जनचेतना बढाउन सक्रिय पार्नेः

प्रहरी कार्यालयमा हुने महिला र बालबालिका सेललाई सक्रिय र सबल बनाएर जनचेतना बढाउनुपर्छ । प्रहरीले नै जनचेतना बढाउने कार्यक्रम ल्याएर बाह्रै महिना जनतामाझ पुग्नुपर्छ । यसले बलात्कारविरुद्धको एक किसिमको भावना पैदा गर्न सहयोग गर्छ ।

६. बलात्कृत व्यक्तिलाई समाजमा सधैँ ‘विचरा’को पात्र बनाउने खालका कुनै पनि कामहरू हुनुहुन्नः

बलात्कृत आफैमा पीडित हुन्छन् । अझ कहिलेकाहीँ प्रेस र पब्लिकले यसलाई थप पीडित बनाउने खालका कामहरू गर्छन् । बलात्कृत हुनु समाजमा सधै विचराको पात्र बनाउने खालका कुनै पनि कामहरू हुनुहुन्न ।

७. बलात्कार विरुद्धका कानुन घरघरमा निःशुल्क पुग्ने वातावरण बन्नुपर्छ:

कुनै पनि अपराध रोक्नलाई एक त मान्छेको चेतनास्तर राम्रो हुनुपर्छ । अर्को कुरा चाहिँ अपराध गरेबापतका सजायहरूको बारेमा जानकार भएमा कम अपराध हुन्छन् । मलाइ लाग्छ नेपालका अधिकांश अपराध गर्ने औसत मान्छेलाई आफ्नो कुकर्म कुन स्तरको अपराध हो भन्नेसम्म जानकारी छैन त्यसैले उनीहरूको आपराधिक मानसिकता बढेर जान्छ । यसको लागि घरघरमा कानुन पुग्ने वातावरण बन्नुप¥यो । आज बाइबल र गीता निःशुल्क रूपमा धार्मिक संस्थाहरूले बाँडेजस्तै हालसालै लागु भएको मुलुकी अपराध संहितका महिला हिंसा र बलात्कार जस्ता जघन्य अपराधका सजायहरूका बारेमा आम मान्छेमा सूचना जानुपर्छ । यसको लागि निःशुल्क अपराध संहिता पढ्ने वातावरण बन्नुपर्छ । यसले पनि बलात्कार रोकथाम र नियन्त्रणमा सहयोग गर्छजस्तो लाग्छ ।