धरानः धरानको युएन नवोदय कलेजमा विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइएको छ । कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरूले नृत्य, गीत र नाटक प्रस्तुत गरेका थिए ।

त्यस क्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक वेशभूषामा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा कक्षा ११ मा अध्ययनरत छात्रा रश्मी शेर्पाले लेखेको सन्देशमूलक नाटक ‘छाउपडी प्रथाको अन्त्य’ पनि प्रस्तुत गरिएको थियो । सो नाटकलाई शिक्षक दिव्या झाले निर्देशन गरेकी थिइन् । यसमा छाउपडी प्रथाका कारण देशको पश्चिमी भागमा महिलाहरूले भोग्नुपर्ने समस्या प्रस्तुत गरिएको थियो ।

कक्षा ११ कै छात्रा गरिमा राईले अत्यन्तै आकर्षक ढङ्गले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा शिक्षक सुमन बास्कोटाले विद्यार्थीहरूलाई बाल दिवसको इतिहास र यसलाई मनाउनुको कारणबारे जानकारी दिएका थिए । विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभालाई देखाउने अवसर प्रदान गर्न कलेजले बेला–बेलामा यस्ता कार्यक्रम आयोजना गर्ने गरेको उनले बताए ।

युएन नवोदय कलेज सञ्चालक समितिका प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले पढाइ सँगसँगै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन कलेजले दुवै क्षेत्रमा ध्यान दिने गरेको जानकारी दिए ।

un (2)