इटहरीः नेपालमै पहिलो पटक इटहरीमा आयोजना गरिएको ‘साउण्ड एक्स्पो’ आज समापन हुँदैछ ।
सो एक्स्पोमा अवलोकनकर्ताले चासो दिएका छन् । बजारमा आएका नयाँनयाँ ब्राण्डका साउण्ड सिस्टमको प्रत्यक्ष अवलोकन गर्नुको साथै अफरमा खरीद गर्न समेत पाइने भएपछि एक्स्पोमा भीड लागेको छ ।
एक्स्पोमा सर्वसाधारणदेखि व्यवसायीसम्मको आकर्षण देखिन्छ । डिजे मिक्स्चरदेखि माइक्रोफोन, साउण्ड बक्स, लाइटसम्मका सामान व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि किन्नेको भीड बढेको छ ।
आइतबारबाट शुरु भएको एक्स्पोले सोमबारसम्म ५० लाखको कारोबार गरेको एक्स्पोका मूल व्यवस्थापक राजकुमार कार्कीले जानकारी दिए । एक्स्पोले १ करोडको कारोबार गर्ने लक्ष्य रहेको उनले बताए । एक्स्पोमा १० वटा स्टल सहभागी छन् । मेलामा सहभागी हुन नेपालभरका साउण्ड व्यवसायी तथा डिलर इटहरीमा रहेको कार्कीले बताए ।
२०७० सालमा सङ्घ बने पनि यस्तो मेला आजसम्म भएको थिएन । व्यवस्थापक एवं पूर्वाञ्चल साउण्ड सिस्टम इटहरीका सञ्चालक कार्कीले नयाँ प्रविधिको विषयमा जानकारी दिनको लागि एक्स्पो उपयोगी रहेको बताए ।
साथै एक्स्पोमा साउण्ड र लाइटसम्बन्धी ३ दिने तालीमसमेत आयोजना गरिएको छ । तालीममा १ सय २० जना सहभागी छन् ।