इटहरीः नेकपाको इटहरी उपमहानगर पार्टी कार्यालयमा तालाबन्दी गरेको १९ दिनपछि आन्दोलनरत युवा नेता तथा कार्यकर्ताहरूले मङ्गलबार इटहरीस्थित नेकपाको प्रदेश नम्बर १ पार्टी कार्यालयमा तालबन्दी गरेका छन् ।

नगर पार्टी कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएको १९ दिन हुँदासम्म आफूहरूको मागलाई बेवास्ता गरेको जनाउँदै आक्रोशित युवा नेता तथा कार्यकर्ताहरूको समूहले प्रदेश पार्टी कार्यालयमा तालाबन्दी गरेको हो । उनीहरूले इटहरी ५ स्थित उपेन्द्र आचार्यको घरमा रहेको नेकपा प्रदेश नम्बर १ को पार्टी कार्यालयमा मङ्गलबार मध्याह्न्न १२ बजे अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।

प्रदेश पार्टी कार्यालयमा बसिरहेका नेकपा प्रदेशका अध्यक्ष देवराज घिमिरेसहितका नेताहरूलाई युवहरूको आक्रोशित समूहले पार्टी कार्यालय बाहिर निकालेर मूलढोकामा तालाबन्दी गरेको आन्दोलनको नेतृत्व गरिहेका युवा नेता सुनिल कार्कीले बताए । युवाहरूको ठूलो समूह प्रदेश पार्टी कार्यालय पुग्दा कार्यालयमा प्रदेश पार्टी अध्यक्ष घिमिरे, प्रदेश सदस्य तथा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी र नेकपा इटहरी उपमहानगरका अध्यक्ष बहादुरसिंह तामाङ ‘ज्वाला’ बसिरहेका थिए । घिमिरेले कार्यालयमा तालाबन्दी गर्नु नै समस्याको विकल्प नभएको बताए पनि आक्रोशित युवाहरूले तीन दिन समय सीमा दिएर २२ भदौमा प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरिएकाले तालाबन्दीको विकल्प नभएको भन्दै घिमिरेलगायतका नेताहरूलाई बाहिर निस्कन आग्रह गरेका थिए । घिमिरे सहितका नेताहरू कार्यालय बाहिर निस्कनासाथ युवाहरूको समूहले ताला लगाएको थियो ।

ताला लगाउन पुगेका युवाहरूको आक्रोशित समूहले पार्टी समायोजनका लागि बनेको कार्यदलमा रहेका नेताहरूका विरुद्ध चर्का नारा लगाएका थिए । उनीहरूले कार्यदलमा रहेका व्यक्तिले लामो समयदेखि पार्टीमा रहेर योगदान गरेका, निर्वाचन नै जितेर आएकाहरूलाई फ्याँकेर टोल विकास समिति र आफ्ना गोजीकालाई आफूखुशी नगर कमिटीको जिम्मेवारीपूर्ण स्थानमा नाम सिफारिश गरिएको आरोप पनि लगाए । कार्यदलमा रामप्रसाद चौलागाई, रेवती घिमिरे, राजकुमार गिरीलगायत रहेको उनीहरूले बताए ।

यसअघि असन्तुष्ट युवा नेता तथा कार्यकर्ताहरूले पटकपटक कार्यदलमा रहेका सबै जनासँग छलफल गर्न आग्रह गरे पनि सामुहिक नभेट्ने र आफूहरूको मागलाई बेवास्ता गरेपछि बाध्य भएर १२ भदौमा नेकपा इटहरी उपमहानगर पार्टी कार्यालयमा तालाबन्दी गरेको युवा नेता कार्कीले बताए ।

उपमहानगर पार्टी कार्यालयमा तालाबन्दी गर्दासम्म युवाहरूको आन्दोलनलाई कमजोर ठानी बजारभरी नकरात्मक कुरा फैलाउँदै कार्यदलमै रहेका नेताहरू हिँडेको उनले बताए । जसले गर्दा आन्दोलनमा रहेका युवाहरू थप आक्रोशित र उत्तेजित भएको उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो माग सम्बोधन गर्नुको साटो नेताहरू दुई चार जनाको आन्दोलनले केही फरक नपर्ने भन्दै युवाहरूको शक्तिलाई अवमूल्यन गर्नुका साथै हेपाहा प्रवृत्ति देखाएकाले आन्दोलनमा उत्रिएका युवाहरूको ठूलो समूह थप आक्रोशित भएर प्रदेश कार्यालयमा तालाबन्दी गर्न बाध्य भएका हुन् ।’

जबसम्म असन्तुष्ट पक्षको माग पार्टीको विधानअनुसार वैज्ञानिक ढङ्गले सम्बोधन हुँदैन तबसम्म नेकपा इटहरी उपमहानगर र प्रदेश पार्टी कार्यालयमा लगाइएको ताला नखोल्ने कार्कीले बताए । उनका अनुसार प्रदेश पार्टी कार्यालयमा तालाबन्दी लगाएसँगै युवाहरूले चरणबद्ध आन्दोलनको घोषणा समेत गरेका छन् ।

४ असोजमा दुर्गा पाटी प्यालेसमा इटहरी उपमहानगरभरका असन्तुष्ट युवा नेता तथा कार्यकर्ताहरूको विशाल भेला गरिने भएको छ । ५ असोजमा सुनसरीको झुम्कामा हुने जितिया पर्वमा सहभागी हुन आउने पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ । ५ गते पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदा पनि मागका विषयमा सुनुवाइ नगरिए ७ असोजभित्रमा जिल्ला पार्टी कार्यालयमा पनि तालाबन्दी गर्ने कार्यक्रम रहेको कार्कीले बताए ।

कार्कीका अनुसार प्रदेश कार्यालयमा लगाइएको तालाबन्दीमा प्रदेश सांसद सर्वध्वज साँवा, लीलम बस्नेत, संविधानसभा सदस्य रेवतीरमण भण्डारी र नेकपा इटहरी नगर कमिटी पूर्व अध्यक्ष याम सुब्बा, नेकपाबाट विजयी भएका इटहरी उपमहानगरका जनप्रतिनिधि लगायतका नेताहरूले समेत साथ दिएका छन् ।

nekapa tala  (2)